भगवान श्रीकृष्णको रासलिला : सोह्र हजार पत्नी
कृष्णको गोपिकाहरूसँगको प्रेम र सोह्र हजार रानीहरूको घटनालाई यदाकदा चर्चाको विषय बनाउने गरिन्छ । गोपी र राधासंगको प्रेम निश्चय पनि एक विशेष घटना हो र यदि कुनै प्रेमी र प्रेमिका त्यस उच्च कोटिमा पुगेका छन् जहां कृष्ण र गोपिकाहरु थिए भने त्यस प्रेमको वर्णन उनहरूले गर्न सक्छन् । श्रीकृष्ण एक पूर्ण पुरुष थिए ।
कृष्णमा सम्पूर्ण पुरुषोचित गुण थिए । उनी आकर्षक थिए । बहादुर थिए । निर्णायक थिए । असल रक्षक थिए । समाजका हित चिन्तक थिए । योग्य पुत्र थिए । योग्य मित्र थिए । गायक थिए, संगीतज्ञ थिए । नर्तक थिए । घिउदूधमा बालबालिकाहरूको पहिलो अधिकार स्थापना गरेर बाल अधिकारका प्रतिपादक बनेका थिए । त्यस्ता विशेष पुरुषलाई प्रेम गर्ने गोपिकाहरु धन्य भएका थिए । कृष्ण जस्ता अतिमानवको प्रेम पाएर गोपिकाहरु प्नि धन्य भएका थिए । भागवत ग्रन्थको रासलीलामा त्यो प्रेम ज्यादै सुन्दर र पवित्र रूपमा प्रकट गरिएको छ । राधाको चरित्र भागवतमा पाइंदैन् ।
राधा र कृष्णको प्रेमको अभिव्यक्ति पनि ज्यादै सुन्दर छ । कंसको निम्तोमा मथुरा जाने समयमा प्रेमी कृष्णले प्रेमिका राधासंग अन्तिम विदाई लिएका छन् । यस विदाईमा भगवान श्रीकृष्णले आफ्नी प्रेमिका लागि बजाएको मुरली अब अरु कसैका लागि नबज्ने उपहार प्रदान गरेर बिदाई दिन्छन् । ब्रज छोडे पछि कृष्ण फेरि कुनै गोपिकासंग भेट गर्न कहिल्यै पनि फर्केनन् ।
यसबाट कृष्णको प्रेमको पवित्रता स्पष्ट हुन्छ । कृष्णको प्रेम त्यागमा रुपान्तरित हुने प्रेम थियो वासनामा रुपान्तरित हुने प्रेम थिएन् । गोपिनीले कुन स्तरको प्रेम गरेका थिए भन्ने उदाहरण मीराको कृष्ण प्रेमले दिन्छ । जसले संसारमा एक कृष्ण बाहेक अरु कसैलाई पनि पुरुष देख्दैनथिन् । नरकासुर नाम गरेको एक पतित र व्याभिचारी राजा थियो । जसले कन्याहरूलाई जबरजस्ती पक्डिएर ल्याउंथ्यो र यौनसम्बन्ध राख्थ्यो । त्यसपछि जेलमा थुनेर राख्थ्यो । यसरी उसले हजारौं कन्याहरूलाई दूषित गरेका थियो । ती कन्याहरूलाई कसैले मुक्त गर्न सकेको थिएन् ।
भगवान श्रीकृष्णले नरकासुर वध गरेर सबै कन्याहरूलाई मुक्त गरे अनि सबैका घरघर पठाई दिए । घर गएका कन्याहरु पुनः कृष्णकहां फर्के तथा भन्न थाले कि उनीहरूलाई न त समाजले स्वीकार गर्यो न परिवारले । अरु कसैले विवाह गर्न पनि मानेन । हजारौं नारीहरूको यो क्रन्दन सुनेर कृष्णले तत्काल निर्णय गरे– तिमीहरु आजदेखि कृष्ण पत्नी भयौ । र कृष्ण पत्नी भएपछि तिमीहरूको सम्मानको जिम्मेवारी पनि मेरो भयो । यसरी कृष्ण सोह्र हजार पत्नीका पति हुन पुगे ।
प्रतिक्रिया