सोमबार, पुष ७, २०८२

टप एण्ड टी–२० : नेपाल नर्दन टेरिटोरी स्ट्राइकरसँग पराजित

नेपालखोज २०८२ साउन ३० गते १९:३०

काठमाडौं । अष्ट्रेलियाको डार्विनमा जारी टप एण्ड टी–२० सिरिजमा नेपाल अष्ट्रेलियाको स्थानीय क्लब नर्दन टेरिटोरी स्ट्राइकरसँग पराजित भएको छ ।

अष्ट्रेलियाको मरारा क्रिकेट ग्राउण्ड २ आज भएको आफ्नो उद्घाटन खेलमा नेपाल नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको हो ।

नर्दन टेरिटोरीले जितको लागि दिएको एक सय ७८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ३५ रनमा समेटियो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाए । त्यसैगरी गुल्शन झाले २६ तथा कप्तान रोहित पौडेलले २३ रन बनाए । नर्दन टेरिटोरीका लागि म्याट हामोन्डले तीन विकेट लिए भने टम एन्ड्रयुज र केन रिचार्डसनले समान दुई/दुई विकेट लिए । त्यस्तै हामिश मार्टिनले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नर्दन टेरिटोरीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ७७ रनको योगफल बनाएको थियो ।

उसका लागि ओपनर डार्सी शर्टले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले । त्यसैगरी टम एन्ड्रयुजले अविजित ३२ रन जोडे भने जोर्डन सिल्कले १९ रन बनाए ।

कोनर क्यारोलले १८, क्याडी म्याकमोनले १२ तथा जेक वेदराल्डले ११ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने शाहव आलमले दुई विकेट झारे ।

त्यस्तै गुल्शन झा, दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले समान एक एक विकेट लिए । नर्दन टेरिटोरीले सन् २०२३ मा भएको सिरिजको पहिलो संस्करणको उपाधि जितेको थियो । त्यस्तै गतवर्ष भने सेमिफाइनलसम्म पुगेको थियो । नेपालले अब भोलि बङ्गलादेश ‘ए’ टोलीसँग खेल्नेछ ।

प्रतिक्रिया