बुधबार, पुष ९, २०८२

अन्नपूर्ण संरक्षण क्षेत्र : मनसुनमा घटे पर्यटक

नेपालखोज २०८२ भदौ ४ गते १४:०४

गण्डकी । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा मनसुनका कारण पर्यटक घटेका छन् । गत असारयता पर्यटक आगमनमा कमी आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । असारमा १९ हजार ७४९ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए । साउनमा जम्मा ११ हजार ८२४ पर्यटक भित्रिएको आयोजनाका प्रमुख डा रविन कडरियाले जानकारी दिए ।

मनसुन सुरु हुनुअघि गत जेठमा ३१ हजार ९५५ पर्यटक अन्नपूर्ण क्षेत्रमा आएका थिए । गत वर्षको तुलनामा भने यो साउनमा पर्यटक बढी आएको उनको भनाइ छ । गत वर्ष साउनमा जम्मा पाँच हजार ७१० पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । मनसुनयाम पर्यटन क्षेत्रका लागि बेमौसम मानिन्छ ।

असोज लागेपछि पदयात्राका लागि आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढ्ने आयोजना प्रमुख डा कडरियाले बताए । मनसुनयाममा पनि घुम्न सकिने गन्तव्यको पहिचान र प्रवर्द्धनको काम गर्न सकिएमा विदेशी पर्यटक आकर्षित गर्न सकिन्छ, उनले भने, पछिल्लो समय कास्कीको कोरी, बागलुङको ढोरपाटनलगायत ठाउँमा मनसुन पदयात्राका लागि आन्तरिक पर्यटक पुग्न थालेका छन् ।

असारदेखि भदौसम्मको यामलाई पर्यटन क्षेत्रका लागि ‘अफसिजन’का रूपमा लिने गरिएको उनले बताए । अन्नपूर्ण क्षेत्रको पदयात्राका लागि असोजदेखि मङ्सिर र चैतदेखि जेठसम्मको समय उत्तम मानिन्छ । सोही याममा पर्यटक आगमन पनि उल्लेख्य रूपमा बढ्ने गरेको छ । गत आवमा दुई लाख ७८ हजार ११३ विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए ।

आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । यस क्षेत्रमा पर्ने अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायतका गन्तव्यस्थलले पर्यटकलाई लोभ्याउने गरेको छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायतका मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा गर्न सकिन्छ ।

सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृति आदि कारणले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

प्रतिक्रिया