बिहीबार, पुष ३, २०८२

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ

नेपालखोज २०८२ भदौ ४ गते १५:५०

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–९ बसपार्कस्थित होटलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १७ हजार ४ सय ट्याब्लेट सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार चनपरिया घर भएका २४ वर्षीय आर्यन कुमार, पर्सा ठोरी गाउँपालिका–२ बस्ने २५ वर्षीय सुर्य लामा, २१ वर्षीय बिनायक तामाङ र चितवन कालिका नगरपालिका–१० बस्ने २१ वर्षीया शान्ती गुरूङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उक्त होटलको १०६ नम्बरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

रौतहटको गुजरा नगरपालिका–२ मोजेवान टोल बस्ने ५५ वर्षीय गोपाल बहादुर थिङलाई अवैध लागूऔषध गाँजा ३ किलो ५० ग्राम, ७८ हजार ३५ नेपाली रूपैयाँ र ६ सय १० भारतीय रूपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
यसैगरी रौतहटको चन्द्रपुर नगरपालिका–२ बाट अवैध लागूऔषध गाँजा २० किलोग्राम सहित सोही नगरपालिका–२ फुलबारीटोल बस्ने २२ वर्षीय सुभास पुलामीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले बा.३१ प ३३१६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ ।

मोरङको विराटनगर महानगरपालिका–१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० ग्राम सहित भारत दिल्ली साउथ भद्रपुर बस्ने ४३ वर्षीय सागीरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्‍वर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।

यसैगरी मोरङको रंगेली नगरपालिका–५ चाँदनी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ११ ग्राम २ सय ७० मिलिग्राम सहित भारत विहार अररिया सिक्टी मुरारीपुर–१ घर भएका २९ वर्षीय ईम्तियाज अन्सारीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले बिआर ३९ इ ३२९३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाराको फेटा गाउँपालिका–१ त्रिवेणी बस्ने ४० वर्षीया पार्वती महतोलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम १ सय ६० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

रूपन्देहीको मायादेवी गाउँपालिका–४ बाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १ सय एम्पुल, डाईजेपाम १ सय एम्पुल र प्रोमेथाजाइन १ सय एम्पुल सहित समरिमाई गाउँपालिका–३ थुमहवा बस्ने ३२ वर्षीय हरि चन्द्र तेलीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले लु.५८ प २२३१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

झापाको दमक नगरपालिका–३ बेलडाँगी बस्ने आशिष तामाङलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका–७ कण्ठपुर चेक पोस्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–५ बढैया गाउँ बस्ने २१ वर्षीय भुपेन्द्र कुमार थारू र ३२ वर्षीय सन्जय दत्त चौधरी रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरीको इनरूवा नगरपालिका–४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम ३ मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका–५ बस्ने ३२ वर्षीय बिशाल लिम्बु र ३५ वर्षीय गणेश तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले प्रदेश १–०२–०५१ प ७७७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका–५ जिरो किमि बस्ने सोही महानगरपालिका–१४ चाउथे घर भएका २२ वर्षीय दिपेन्द्र पुनलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ मिलिग्राम र डिजिटल तराजु १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सामाजिक सञ्जालको दुरूपयोग गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जालको दुरूपयोग गरेको अभियोगमा मकवानपुर मनहरी गाउँपालिका–३ घर भएका ३९ वर्षीय मंगल सिं प्रजालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमा व्यक्ति तथा संस्थालाई लक्षित गरी अमर्यादित अभिव्यक्ति सहितको पोष्ट गरी समाजमा सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने, घृणा तथा द्वेष फैलाई चरित्र हत्या गरेको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यामा संलग्न उनलाई काठमाडौं महानगरपालिका–१० शंखमुलबाट पक्राउ गरेको हो ।

उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट २ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुक सहित एक जना पक्राउ

आलिताल गाउँपालिका–४ रज्यौडा बस्ने दिपक सिजालीलाई भरूवा बन्दुक १ थान सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले सोही ठाउँ बस्ने गगन बोहराको घर तलासी गर्दा भरुवा बन्दुक १ थान फेला पारी बरामद गरेको छ । प्रहरीले हाल फरार गगनको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

बाँकेको कोहलपुर नगरपालिका–११ धिताल पेटोल पम्पस्थित सडकमा भे.१२ प १४८५ नम्बरको मोटरसाइकल मंगलबार बेलुकी दुर्घटना हुँदा चालक सोही नगरपालिका–१० कालिका नगर बस्ने ५९ वर्षीय टोल प्रसाद कोईरालाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित सडकमा बीआर ५५८५०० नम्बरको स्कारपियो र प्र.१–०१–०१६ प ३६६१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका–१ बस्ने ४६ वर्षीय ठाकुर अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रेको पाँचखाल नगरपालिका–५ केराघारीस्थित सडकमा ना.७ ख ७२१४ नम्बरको ट्रकले बा. ९३ प ११७० नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक चौरीदेउराली गाउँपालिका–८ बस्ने ३५ वर्षीय रूपेस खरेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया