बिहीबार, पुष १०, २०८२

इरानमा आक्रमणमा परी पाँच प्रहरीको मृत्यु

नेपालखोज २०८२ भदौ ६ गते २१:५०

तेहरान । इरानको दक्षिणपूर्वी क्षेत्रमा भएको आक्रमणमा परी कम्तीमा पाँच जना इरानी प्रहरीको मृत्यु भएको इरानी सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् । स्थानीय प्रहरीलाई उद्धृत गर्दै फार्स समाचार एजेन्सीले दिएको समाचार अनुसार आक्रमणकारीको अज्ञात समूहले सिस्तान–बलुचिस्तान प्रान्तको इरानशहर नजिकै गस्तीमा रहेका दुई समूहमाथि आक्रमण गरेका थिए ।

‘यस आतङ्ककारी आक्रमणमा सुरक्षा र शान्तिका पाँच जना राष्ट्रसेवक शहीद भएका छन्’ प्रहरीलाई उद्धृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ ।

पाकिस्तान र अफगानिस्तानसँग सीमा जोडिएको सिस्तान–बलुचिस्तान लामो समयदेखि सुरक्षा बल, लागुऔषध तस्कर र पृथकतावादीलगायत सशस्त्र समूहबीच झडपको ‘केन्द्र’ बनेको छ । ठूलो सुन्नी मुस्लिम बलुच अल्पसङ्ख्यकको घर रहेको यो प्रान्त शिया बाहुल्य देशको सबैभन्दा गरिब क्षेत्रमध्ये एक हो ।

प्रहरीका अनुसार नियमित गस्तीमा रहेका ती अधिकारीमाथि गोली प्रहार भएको थियो । इरानी सञ्चार माध्यमले गोलीले छेडिएको प्रहरीको पिकअप नजिकै भुइँमा शव राखिएको तस्बिर सार्वजनिक गरेका छन् । फार्सका अनुसार आक्रमणकारीको खोजी र पहिचानका लागि अभियान जारी छ । तत्काल कुनै पनि समूहले यसको जिम्मेवारी लिएको छैन ।

इरानले यस प्रान्तमा प्रहरी वा रिभोलुसनरी गाड्र्सलाई लक्षित गरी घातक आक्रमण गर्ने गरेको जनाएको छ । इरानी अधिकारीहरूले आक्रमणमा जैश अल–अदल (आर्मी अफ जस्टिस)सहितका सुन्नी जिहादी समूहहरूको संलग्नता रहेको हुनसक्ने बताएको छ । गत हप्ता सुरक्षा फौजले अर्को सशस्त्र समूह अन्सार अल फुरकानका सात जना सदस्यको हत्या गरेको थियो । जैश अल अदलले एक दिन अघि गरेको आक्रमणमा एक प्रहरी अधिकारीको मृत्यु भएको थियो । -रासस/एएफपी

प्रतिक्रिया