बुधबार, पुष ९, २०८२

झन्डै तीन खर्बको निर्यात हुँदा १८ खर्बको आयात, १५ खर्ब २७ अर्बको व्यापार घाटा

मुलुकको अर्थतन्त्र थप दबावमा

नेपालखोज २०८२ भदौ ८ गते १६:३२

काठमाडौं । मुलुकको अर्थतन्त्र थप दबाबमा देखिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी २०८१/८२ को वार्षिक तथ्याङ्क अनुसार आयात र निर्यातबिचको उच्च असन्तुलन सँगै उच्चरुपमा बढेको वैदेशिक व्यापार घाटाले पनि मुलुकको अर्थतन्त्र थप दबाबमा देखिएको हो ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ मा कुल वस्तु निर्यात ८१ दशमलव आठ प्रतिशतले बढेर दुई खर्ब ७७ अर्ब तीन करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यातमा तीन प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः एक सय १७ दशमलव आठ प्रतिशत, एक दशमलव छ प्रतिशत र छ दशमलव सात प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, जुटका सामान, चिया, जुत्ता तथा चप्पल लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिङ्क सिट, जुस, अदुवा, तयारी पोसाक लगायतका वस्तुको निर्यात घटेको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०८१/८२ मा कुल वस्तु आयात १३ दशमलव तीन प्रतिशतले बढेर १८ खर्ब चार अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयातमा एक दशमलव दुई प्रतिशतले कमी आएकोे थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः सात दशमलव पाँच प्रतिशत, १४ दशमलव दुई प्रतिशत र ३१ दशमलव सात प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा भटमासको कच्चा तेल, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, चामल-धान, खाने तेल, स्पन्ज आइरन लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाइजहाजका स्पेयर पार्टपुर्जा, सुन, रासायनिक मल, विद्युतीय उपकरणलगायतका वस्तुको आयात घटेको छ । निर्यातततर्फ भैरहवा, विराटनगर, वीरगञ्ज, सुख्खा बन्दरगाह, कैलाली, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ जलेश्वर र त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ मा कुल वस्तु व्यापार घाटा छ प्रतिशतले वृद्धि भई १५ खर्ब २७ अर्ब ९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटामा एक प्रतिशतले कमी आएकोे थियो । समीक्षा वर्षमा निर्यात–आयात अनुपात १५ दशमलव चार प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात नौं दशमलव छ प्रतिशत रहेको थियो । समीक्षा वर्षमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब ८१ अर्ब १५ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्ष यस्तो आयात एक खर्ब ५१ अर्ब ७६ करोड रुपैंयाँ बराबरको भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया