ढुकुटीमा २७ खर्ब विदेशी मुद्रा, १५ महिनाको आयात धान्न पर्याप्त

काठमाडौं । विदेशी मुद्राको सञ्चिति बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थिति सम्बन्धी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन अनुसार २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३१ दशमलव दुई प्रतिशतले बढेर २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ असार मसान्तमा २७ दशमलव सात प्रतिशतले बढेर १९ अर्ब ५० करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८२ असार मसान्तमा ३० दशमलव छ प्रतिशतले बढेर २४ खर्ब १४ अर्ब ६४ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा एक खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८२ असार मसान्तमा ३६ दशमलव छ प्रतिशतले बढेर दुई खर्ब ६३ अर्ब ४ करोड कायम भएको छ । २०८२ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव एक प्रतिशत रहेको छ
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८ महिनाको वस्तु आयात र १५ महिना चार दिनको लागि वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरू क्रमशः ४३ दशमलव आठ प्रतिशत, एक सय २८ दशमलव एक प्रतिशत र ३४ दशमलव एक प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५ दशमलव आठ प्रतिशत, एक सय आठ दशमलव छ प्रतिशत र २९ दशमलव तीन प्रतिशत रहेका थिए ।








प्रतिक्रिया