अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ पवित्रनगरस्थित रम्भादेवी गेष्ट हाउसबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० ग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तार्केश्वर मनमैजु बस्ने दाङ घोराही उपमहानगरपालिका–१० घर भएका ३२ वर्षीय निरोज कुँवर, काठमाडौं सामाखुशी बस्ने भक्तपुर सुर्यबिनायक नगरपालिका–६ घर भएका ३० वर्षीय सुभाष मिश्र र काठमाडौं बालाजु बस्ने धादिङ सिद्धलेक गाउँपालिका–३ घर भएका २८ वर्षीय सुर्य बहादुर थापा रहेका छन् । प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरीले उक्त होटलको २०३ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–११ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १२ हजार ६ सय ट्याब्लेट सहित कोशी गाउँपालिका–६ बस्ने २१ वर्षीय सुनिल मुखिया समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मघुवनबाट खटिएको प्रहरी लौकहीबाट प्रकाशपुरतर्फ आउँदै गरेको प्रदेश १–०२–१६ प १२८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङको विराटनगर महानगरपालिका–१७ मटेरूवा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्राम सहित कटहरी गाउँपालिका–४ बस्ने ५० वर्षीय महेन्द्र साहलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१ –०२ ०५१ प २७५९ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पर्साको वीरगंज महानगरपालिका–१६ बाट अवैध लागूऔषध गाँजा करिब ५ किलो २ ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर कैलाश गाउँपालिका–८ बस्ने सुर्य बहादुर थिङ र ३६ वर्षीय हिरालाल तामाङ रहेका छन् । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३६ एम्पुल, नोर्फिन ३७ एम्पुल र फेनारगन ३७ एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका–९ पृथ्वीचोक बस्ने २३ वर्षीय साजन ठकुरी र २२ वर्षीय अर्जुन गुरूङ रहेका छन् । वडा प्रहरी कार्यालय वालिङ समेतबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ आउँदै गरेको लु.१ ख ५४५१ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
चितवनको भरतपुर महानगरपालिका–२ देवकोटा चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३० एम्पुल, नोर्फिन ३० एम्पुल र फेनारगन ३० एम्पुल सहित लमजुङ बेसीशहर नगरपालिका–३ बस्ने २४ वर्षीय सुरेश परीयारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बाँकेको नेपालगंज उपमहानगरपालिका–२ बाट नियन्त्रित लागूऔषध ट्रामोल ६० ट्याब्लेट र स्पास्मो १८ ट्याब्लेट सहित रूकुम पश्चिम मुसिकोट नगरपालिका–३ बस्ने २२ वर्षीय राजेन्द्र खड्कालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी बाँकेको नेपालगंज उपमहानगरपालिका–४ पुष्पलाल चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट सहित रूकुम पश्चिम मुसिकोट नगरपालिका–१ बस्ने २५ वर्षीय मनिष घर्तीमगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
दाङको घोराही उपमहानगरपालिका–१४ रांगा मार्केट चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही उपमहानगरपालिका–६ सौडियार सुकारी टोल बस्ने २६ वर्षीय प्रविन घर्तीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
इजरायल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीको लागि इजरायल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्याङ्जा पुतलीबजार नगरपालिका–१ बस्ने २८ वर्षीय सुसन ताम्राकार र काठमाडौं महानगरपालिका–१५ बस्ने ५० वर्षीय योगेन्द्र घले रहेका छन् ।
पक्राउ मध्ये सुसनले इजरायल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ र योगेन्द्रले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठामाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुसनलाई काठमाडौं महानगरपालिका–९ बाट आइतबार र योगेन्द्रलाई काठमाडौं महानगरपालिका–१० बाट सोमबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।








प्रतिक्रिया