बिहीबार, पुष ३, २०८२

हत्यामा संलग्न रहेको अभियोगमा आठ जना पक्राउ

नेपालखोज २०८२ भदौ १० गते १६:१२

स्याङ्जा । वालिङ नगरपालिका–५ बाहुनडाँडा बस्ने ३२ वर्षीय ढाल बहादुर थापाको हत्यामा संलग्न रहेको अभियोगमा ८ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हरिनास गाउँपालिका–५ बस्ने २२ वर्षीय सिजन थापा, २० वर्षीय विवेक मानन्धर, २३ वर्षीय गोरे भन्ने गुरू प्रसाद लम्साल, २३ वर्षीय विश्वास वाग्ले, १७ वर्षीय किशोर, सोही नगरपालिका–६ बस्ने २२ वर्षीय निशान थापा, चापाकोट नगरपालिका–०५ बस्ने २४ वर्षीय अनिल शाही ठकुरी र १८ वर्षीय किशोर रहेका छन् ।

वालिङ नगरपालिका–५ जर्कोटस्थित मोटरसाइकल चर्को आवाजमा चलाएको विषयमा वादविवादको क्रममा ढाल बहादुरलाई शनिबार राति कुटपिट गर्दा गम्भीर घाइते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएकोमा उपचारको क्रममा उनको आइतबार बिहान मृत्यु भएको थियो । अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जा, वडा प्रहरी कार्यालय वालिङ समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई स्याङ्जा जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत स्याङ्जाबाट १० दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरको अभियोगमा पक्राउ

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ सिदिङवा गाउँपालिका–३ बस्ने १९ वर्षीय जिवन कटुवाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिवनले ती बालिकालाई बुद्धशान्ति गाउँपालिका–१ होक्सेमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कारयालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर, भक्तपुर नगरपालिका–६ भोलाछें बस्ने ३१ वर्षीय सनम त्यातलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त मुद्दामा फरार रहेका उनलाई काठामाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर, भक्तपुर नगरपालिका–६ महाकालीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ ।

स्रोत नखुलेको नगद सहित पक्राउ

ललितपुर महानगरपालिका–४ भनिमण्डल शान्तिकुना मार्ग डेरा गरी बस्ने सिन्धुली घर भएका २६ वर्षीय गौरब स्याङ्तानलाई स्रोत नखुलेको नगद ९१ लाख ५० हजार रूपैयाँ सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त नगद फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया