विश्वका चारमध्ये एक जना सुरक्षित पिउने पानीबाट वञ्चित : राष्ट्रसङ्घ

जेनेभा । विश्वभर अझै पनि दुई अर्बभन्दा बढी मानिस सुरक्षित र व्यवस्थित पिउने पानीको पहुँचबाट वञ्चित रहेको संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ । राष्ट्रसङ्घले मङ्गलबार प्रकाशित प्रतिवेदनमा सन् २०३० सम्ममा सबैका लागि सुरक्षित पानी र सरसफाइ उपलब्ध गराउने लक्ष्य अझै टाढिँदै गएको बताएको छ ।
संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य संस्था (डब्लुएचओ) र बाल एजेन्सी (युनिसेफ) ले संयुक्त रूपमा जारी गरेको अध्ययनअनुसार गत वर्ष विश्वका चारमध्ये एक जना मानिस सुरक्षित रूपमा व्यवस्थित पिउने पानीको पहुँचबाट वञ्चित थिए । अझै पनि करिब १० करोड मानिस सतहको पानीमै निर्भर छन्, जसले उनीहरूलाई रोगको उच्च जोखिममा पारेको छ ।
पानी, सरसफाइ र स्वच्छता कुनै विशेषाधिकार होइन, ती आधारभूत मानव अधिकार हुन्, डब्लुएचओका वातावरण विभागका प्रमुख रुडिगर क्रेचले भने, सबैभन्दा सीमान्तकृत समुदायहरूका लागि कामलाई तीव्र बनाउनैपर्छ । प्रतिवेदनले पिउने पानीलाई पाँच तहमा वर्गीकरण गरेको छ ।
सबैभन्दा माथिल्लो तह ‘सुरक्षित रूपमा व्यवस्थित’ हो, जसमा पानी घरमै उपलब्ध हुने, आवश्यक बेला पाइने र मल तथा रासायनिक प्रदूषणबाट मुक्त हुने सुविधा समावेश हुन्छ । अन्य तहहरूमा आधारभूत (३० मिनेटभित्र सुधारिएको स्रोतमा पुग्ने), सीमित (३० मिनेटभन्दा बढी लाग्ने), असुरक्षित (असुरक्षित कुवा वा भूमिगत पानी) र सतहको पानी पर्दछन् ।








प्रतिक्रिया