डेनमार्कमा पाषाण युगको डुबेको बस्ती फेला

बे अफ आर्हस (डेनमार्क) । उत्तरी डेनमार्कको आर्हस खाडीको नीलो गहिरो पानीमुनि पुरातत्त्वविद्हरूले आठ हजार पाँच सय वर्षअघि बढ्दो समुद्री सतहले डुबाएको तटीय बस्तीको प्रमाण पत्ता लगाएका छन् । यस गर्मीमा गोताखोरहरूले डेनमार्कको दोस्रो ठूलो सहर आर्हस नजिकैको समुद्री सतहबाट करिब ८ मिटर (२६ फिट) तल पाषाण युगको बस्तीका अवशेष सङ्कलन गरेका थिए ।
छ वर्ष लामो अन्तर्राष्ट्रिय परियोजनाको हिस्साका रूपमा रहेको यो उत्खनन एक करोड ३२ लाख युरो (करिब एक करोड ५५ लाख डलर) लागतको हो । यस परियोजनामा युरोपेली सङ्घ (इयु) को आर्थिक सहयोग रहेको छ । परियोजनामा आर्हसका साथै बेलायतको ब्राडफोर्ड विश्वविद्यालय र जर्मनीको लोअर स्याक्सनी इन्स्टिच्युट फर हिस्टोरिकल कोस्टल रिसर्चका विज्ञहरू सहभागी छन् ।
परियोजनाको मुख्य उद्देश्य डुबेका उत्तरी युरोपेली भू–दृश्यहरूको खोजी गर्नुका साथै अपतटीय पवन फार्म तथा अन्य समुद्री पूर्वाधार विस्तारसँगै हराएका मेसोलिथिक बस्तीहरू उजागर गर्नु हो । अन्तिम हिमयुगपछि समुद्री सतह क्रमशः बढ्दै गएको थियो । पुरातत्त्वविद् पिटर मो एस्ट्रपका अनुसार अहिलेसम्म पाषाण युगका बस्तीहरूको अधिकांश प्रमाण तटदेखि भित्री क्षेत्रमा फेला परे पनि यो बस्ती भने पुरानो तटरेखामै अवस्थित थियो ।
उनले भने, यहाँ हामीले वास्तविक पुरानो तटरेखा पाएका छौँ । हामीसँग सिधै समुद्र किनारामा बसोबास गरेको बस्तीको प्रमाण छ । हाम्रो उद्देश्य त्यतिबेलाको तटीय जीवन कस्तो थियो भन्ने बुझ्नु हो । हिमयुगपछि बरफका पत्रहरू पग्लिँदा समुद्रको सतह तीव्र गतिमा बढेको थियो । करिब आठ हजार पाँच सय वर्षअघि समुद्री सतह प्रति शताब्दी करिब दुई मिटर (६.५ फिट) ले बढेको थियो ।
मो एस्ट्रप र उनको टोलीले आर्हस नजिकैको मोस्गार्ड सङ्ग्रहालयमार्फत आजको तटमा भेटिएको ४० वर्गमिटर (४३० वर्गफिट) क्षेत्रफलको सानो बस्ती उत्खनन गरेका छन् । बढ्दो समुद्री सतहले त्यसबेलाको जीवनशैलीलाई ‘टाइम क्याप्सुल’ जस्तै संरक्षित गरेको अनुसन्धानकर्ताहरूको भनाइ छ ।
प्रारम्भिक उत्खननमा जनावरको हड्डी, ढुङ्गाका औजार, तीरका टाउका, सिलका दाँत र काम गरिएको काठका टुक्रा फेला परेका छन् । सम्भावित भविष्य विश्लेषणका लागि उनीहरूले पानीमुनि प्रयोग हुने विशेष भ्याकुम उपकरणमार्फत मिटर–मिटरको हिसाबले सामग्री सङ्कलन गरिरहेका छन् ।








प्रतिक्रिया