सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । झापामा कन्काई नगरपालिका–८ बिरीङ पुलस्थित सडकमा मे.१ च ५४४६ नम्बरको पिकअप र मे.१ च ३४४० नम्बरको भ्यान एकआपसमा ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा भ्यान चालक शिवसताक्षी नगरपालिका–७ बस्ने २९ वर्षीय नवराज बाँस्कोटाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भ्यानमा सवार अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दोलखामा भिमेश्वर नगरपालिका–६ रमितेडाँडास्थित सडकमा बा.९३ प ८८९९ नम्बरको मोटरसाइकल र बा.प्र.०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा बा.९३ प ८८९९ नम्बरको मोटरसाइकलमा सवार बैतेश्वर गाउँपालिका–३ मिर्गे बस्ने २६ वर्षीय सुजन भन्ने श्याम बहादुर खत्री र बा.प्र.०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकल चालक भिमेश्वर नगरपालिका–५ माटी बस्ने २४ वर्षीय सिरिष बस्नेत रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको च्छो रोल्पा अस्पताल चरिकोटमा उपचारको क्रममा मृत्यु भएको हो । बा.९३ प ८८९९ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी पूर्वको देवचुली नगरपालिका–६ टोक्रे खोला पुलस्थित सडकमा लु.१ स ९०९४ नम्बरको अटो मंगलबार साँझ दुर्घटना हुँदा अटोमा सवार भारत मोतिहारी बस्ने ३५ वर्षीया रिजुवाना खातुनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया