ग्रिनल्यान्डमा अमेरिकी प्रभाव सञ्चालनको रिपोर्टपछि डेनमार्कले अमेरिकी राजदूतलाई बोलायो

कोपनहेगन । डेनमार्कका विदेशमन्त्रीले देशका शीर्ष अमेरिकी कूटनीतिज्ञलाई छलफलका लागि बोलाएपछि मुख्य राष्ट्रिय प्रसारणकर्ताले बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्धित कम्तीमा तीन व्यक्तिले ग्रिनल्यान्डमा गोप्य प्रभाव सञ्चालन गरिरहेको रिपोर्ट सार्वजनिक गरेको छ ।
आर्कटिक क्षेत्रमा रहेको विशाल अर्ध–स्वायत्त डेनिस क्षेत्र ग्रिनल्यान्ड लामो समयदेखि ट्रम्पको चासोको केन्द्रमा रहेको छ । तर संयुक्त राज्य अमेरिकाको नाटो सहयोगी डेनमार्क र ग्रिनल्यान्ड दुवैले उक्त टापु बिक्रीका लागि नभएको स्पष्ट गर्दै त्यहाँ अमेरिकी गुप्तचर गतिविधिको रिपोर्टको कडा शब्दमा निन्दा गरेका छन् ।
सार्वजनिक प्रसारणकर्ता डीआरले बुधबार प्रकाशित गरेको रिपोर्टअनुसार, डेनमार्क र सुरक्षा निकायका नाम नखुलाइएका स्रोतहरूसँगै ग्रिनल्यान्ण्ड र अमेरिकाका अज्ञात सूचनादाताले ट्रम्पसँग सम्बन्धित कम्तीमा तीन अमेरिकीले यस क्षेत्रमा ‘प्रभाव सञ्चालन’ गरिरहेको विश्वास गरेका छन् ।
तीमध्ये एक व्यक्तिले अमेरिकी समर्थक ग्रिनल्यान्डवासीहरूको सूची तयार गरेको, ट्रम्पको विरोध गर्नेहरूको नाम सङ्कलन गरेको र अमेरिकी सञ्चारमाध्यममा डेनमार्कलाई नकारात्मक रूपमा देखाउन सकिने घटनाहरू पहिचान गरेको बताइएको छ । अन्य दुई व्यक्तिले भने राजनीतिज्ञ, व्यवसायी र स्थानीयहरूसँग सम्पर्क स्थापित गर्ने प्रयास गरेको रिपोर्टमा उल्लेख छ । ‘प्रभाव सञ्चालन’ भन्नाले समाजका मानिसहरूको सोचाइलाई राजनीतिक, सैन्य वा अन्य उद्देश्यका लागि प्रभावित पार्ने योजनाबद्ध प्रयासलाई जनाइन्छ ।
डीआरले आफ्नो समाचार आठवटा फरक स्रोतबाट प्राप्त सूचनामा आधारित रहेको बताएको छ । यी स्रोतहरूले उक्त गतिविधिले ग्रिनल्यान्ड समाजभित्र डेनमार्कसँगको सम्बन्धलाई कमजोर पार्ने लक्ष्य राखेको विश्वास व्यक्त गरेका छन् । तर यी अमेरिकीहरू आफ्नै इच्छाले कार्यरत थिए वा अरू कसैको आदेशमा भन्ने कुरा स्पष्ट नभएको डीआरले जनाएको छ । प्रसारणकर्ताले उनीहरूको नाम भने गोप्य राख्ने निर्णय गरेको छ ।








प्रतिक्रिया