बिहीबार, पुष १०, २०८२

अमेरिकी चर्चमा बन्दुकधारीको आक्रमणबाट दुई बालबालिकाको मृत्य, १७ जना घाइते

नेपालखोज २०८२ भदौ १२ गते १५:११

मिनियापोलिस, संयुक्त राज्य अमेरिका । अमेरिकाको मिनियापोलिस राज्यको एक चर्चमा सेवा गरिरहेका विद्यालय जाने उमेरका बालबालिकामाथि बुधबार बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा दुई विद्यार्थीको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन् ।

शहरका प्रहरी प्रमुख ब्रायन ओहाराले पत्रकार सम्मेलनमा आक्रमणकारीले चर्चमा गोली प्रहार गरेको पुष्टि गर्नुभएको छ । मिडवेस्टर्न राज्य मिनेसोटाको सबैभन्दा ठूलो शहर मिनियापोलिसको एक सम्बद्ध क्याथोलिक विद्यालयको छेउमा उक्त चर्च अवस्थित छ। ‘आठ र १० वर्षका दुई साना बालबालिकाको बेञ्चमा बसिरहेको अवस्थामा मृत्यु भएको थियो’, ओहाराले भने, ‘१४ बालबालिकासहित १७ जना घाइते भएका छन् ।’

दुई जनाको अवस्था गम्भीर रहेको उनले बताए । बन्दुकधारीले राइफल र पेस्तोल प्रहार गरेपछि पार्किङस्थलमा आत्महत्या गरेको प्रहरी प्रमुखले बताएका छन् । गोली हान्ने व्यक्तिको लामो आपराधिक इतिहास नभएको र उनले एक्लैले काम गरेको अनुमान गरिएको छ । आक्रमणकारी अन्दाजी २३ वर्षको भएको बताइएको छ । अनुसन्धानका लागि सङ्घीय विभागका निर्देशक काश पटेलले आक्रमणकारी ‘रोबर्ट वेस्टम्यान’ रहेको बताएका छन् ।

पटेलले एक्समा लेखेका छन्, एफबीआईले क्याथोलिकहरूलाई लक्षित गरी घरेलु आतङ्कवाद र घृणाजन्य अपराधको रूपमा अनुसन्धान गरिरहेको छ। वेस्टम्यानले अनलाइनमा पोस्ट गरेको भिडियोमा केही पेज लामो आक्रमणको घोषणा र आक्रमणमा प्रयोग गरिएका हतियारको नाम र चित्र देखाइएको छ । यस आक्रमणको राष्ट्रपति डोनाल्ड ट्रम्पसहित धेरैले निन्दा र दुःख व्यक्त गरेका छन् ।

राष्ट्रपति ट्रम्पले शोकको यस घडीमा ह्वाइट हाउसमा अमेरिकी झण्डालाई आधा झुकाउन निर्देशन दिएका छन् । क्याथोलिक चर्चको नेतृत्व गर्ने पहिलो अमेरिकी पोप लियो चौधौंले यस घटनाबाट आफू निकै मर्माहत भएको बताएका छन् । हेनेपिन काउन्टी मेडिकल सेन्टरमा छ देखि १४ वर्ष उमेर समूहका दुई वयस्क र नौ जना बालबालिकाको उपचार भइरहेको र कम्तीमा चार जनाको तत्काल शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् । मिनेसोटा हृदयविदारक छ, गभर्नर टिम वाल्जले एक्समा लेखेका छन् ।

प्रतिक्रिया