अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ नारायणटार डेरा गरी बस्ने सप्तरी सुरूङ्गा नगरपालिका–११ घर भएका ४० वर्षीय विद्या सागर चौधरीलाई नियन्त्रित लागूऔषध डाईजेपाम ५७ एम्पुल, फेनारगन ५७ एम्पुल र नोर्फिन ५७ एम्पुल सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३० एम्पुल, फेनारगन ३० एम्पुल र नोर्फिन ३० एम्पुल सहित काठमाडौं स्वयम्भू बस्ने सप्तरी शम्भूनाथ नगरपालिका–७ घर भएका २८ वर्षीय प्रदिप कुमार चौधरीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजार बस्ने २५ वर्षीय सुनिल तामाङलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ५ सय मिलिग्राम र नगद १७ हजार रूपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका–८ सिमापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम सहित मधुवन नगरपालिका–९ डाँडा बस्ने २५ वर्षीय आशिक तामाङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बर्दियाको बढैयाताल गाउँपालिका–७ भत्केको पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके बैजनाथ गाउँपालिका–८ टिटिहिरिया बस्ने २३ वर्षीय सरोज कुमार थारू र फत्तेपुर बस्ने २३ वर्षीय रूपेश थारू रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुबै जनालाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङको उर्लाबारी नगरपालिका–७ पारिजात टोल बस्ने ४२ वर्षीय लाल बहादुर लिम्बु र ३२ वर्षीय पदम बहादुर अधिकारीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ९० मिलिग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले लाल बहादुरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका–५ बस्ने २९ वर्षीय निराजन थापालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापाको मेचीनगर नगरपालिका–८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ग्राम १ सय मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय अजय मेचे र भारत वेष्ट बंगाल दार्जिलिङ उत्तरा रथखोला भिमराम नक्सलबारी बस्ने ३० वर्षीय कनकन राह रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले मे.११ प ४२३३ नम्बरको मोटरसाइकलमा सवार दुबै जनालाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
वैदेशिक रोजगारीको लागि आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका–१२ बस्ने बागमती गाउँपालिका–५ घर भएका ३१ वर्षीय छबिन्द्र हुमागाईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
छबिन्द्रले स्लोभाकिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ५ लाख ३१ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका–१२ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ
काठमाडौं महानगरपालिका–१५ स्वयम्भू डेरा गरी बस्ने धादिङ घर भएकी ५५ वर्षीया सुन्तली तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ हजार ७ सय ७० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
कैलालीको गोदावरी नगरपालिका–२ बसन्तपुर बस्ने ३५ वर्षीय राम साउदको टहरामा जुवातास खेलिरहेको अवस्थामा राम समेत २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार अन्य ६ जनाको खोजी गरिरहेको छ ।
नुवाकोटको शिवपुरी गाउँपालिका–६ गुर्जेस्थित बार्दली होटलमा जुवा (कौडा) खेलिरहेको अवस्थामा लिखु गाउँपालिका–५ डि चौघडा बस्ने ४० वर्षीय श्याम कृष्ण श्रेष्ठ समेत २२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १० लाख ७१ हजार ६ सय रूपैयाँ र कौडा ३१ थान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चौडस्थित सडकमा ठाँटाबजारबाट डडेल्धुरातर्फ आउँदै गरेको से.१ ज ७३८ नम्बरको जिप बिहीबार बिहान दुर्घटना हुँदा जिपमा सवार ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही गाउँपालिका–५ बस्ने १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेका छन् । साथै दुर्घटनामा घाइते भएका जिप चालक र जिपमा सवार अन्य ५ जनालाई उपचारको लागि डडेल्धुरा अस्पतालतर्फ पठाइएको छ ।
ललितपुरको गोदावरी नगरपालिका–१ दमाइटारस्थित सडकमा बागमती प्रदेश ०२–०२२ प ०२३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार गोदावरी नगरपालिका–२ बस्ने ३८ वर्षीय दिपक बिष्टको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
काठमाडौं महानगरपालिका–८ पशुपति आर्यघाट नजिकै सतलमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित झुप्रा खोलामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
बाराको महागढीमाई नगरपालिका–८ थलही पुल नजिकै बाटो छेउमा सोही ठाउँ बस्ने ३५ वर्षीय जितेन्द्र गिरी बुधबार मृत अवस्थामा फेला परेका छन् ।
बझाङको जयपृथ्वी नगरपालिका–१ स्थित डुङ्ग्री खोलाको कुयापानी भन्ने स्थानमा सोही नगरपालिका–१ भण्डार बस्ने ५५ वर्षीय राम चन्द्र बोहरा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
चाँगुनारायण नगरपालिका–८ सुडालस्थित दुलाल गाउँ बस्ने २७ वर्षीया रञ्जना घोरासैनीको गोठमा विद्युत सर्ट भई बुधबार राति आगलागी हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
विभिन्न धनमाल चोरी
काठमाडौं, तारकेश्वर नगरपालिका–१० डेरा गरी बस्ने उदयपुर घर भएका २९ वर्षीय बिक्रम लायो मगरको कोठाबाट सुनका विभिन्न गरगहना र नगद १ लाख ७० हजार रूपैयाँ समेत गरी करिब ९ लाख ६ हजार रूपैयाँ बराबरको धनमाल बुधबार राति चोरी भएको छ ।
ललितपुर, ललितपुर महानगरपालिका–२५ खोकना दोबाटोस्थित मोहन कृष्ण महर्जनको पसलबाट नगद २ लाख रूपैयाँ बुधबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया