‘प्राविधिक शिक्षा सामाजिक तथा आर्थिक विकासको महत्वपूर्ण माध्यम’

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्राविधिक तथा व्यावसायिक शिक्षालाई राज्यले सामाजिक तथा आर्थिक विकासको महत्वपूर्ण माध्यमको रूपमा लिएको बताएका छन् ।
काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन (कुसोड)ले आज ललितपुरमा आयोजना गरेको आइल्यावको दिक्षान्त समारोह एवं पूर्वविद्यार्थी भेटघाट कार्यक्रममा सभामुख घिमिरेले नेपालमा प्राविधिक तथा व्यावसायिक क्षेत्रको सुधारका लागि तीनै तहका सरकारलाई उनीहरूको भूमिका कार्यान्वयन गर्न सक्षम बनाउन विभिन्न कार्यक्रमका साथ अगाडि बढिरहेको बताए ।
‘नेपालको संविधानले रोजगारीको अवसरलाई सबैको आधारभूत अधिकारका रूपमा लिएको छ, सक्षम मानव संशाधनमार्फत आर्थिक समृद्धि हासिल गर्न स्पष्ट दृष्टिकोण आवश्यक छ, हामी नीतिगत तथा कानुनी पक्षमा समयानुकूल सुधारको प्रक्रियामा छौँ, यद्यपि परिवर्तन प्रक्रिया सजिलो छैन, तर परिवर्तन अपरिहार्य छ’, सभामुख घिमिरेले भने ।
शिक्षाविद्, विशेषज्ञ, व्यवसायी, विकास साझेदार र निजी क्षेत्रको सहयोगमा टिभीइटी सुधार प्रक्रियामा देशमा स्पष्ट प्रगति गर्न सकेको उल्लेख गर्दै उनले आगामी दिनमा सहकार्य जारी राख्न गर्नुपर्ने नीतिगत कुरामा सरकारका तर्फबाट सहयोग रहने बताए ।
काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा डा अच्युतप्रसाद वाग्लेले प्राविधिक शिक्षा सङ्घीयताको सफल पाटो हुन सक्छ भन्दै सङ्घीयतालाई सफल बनाउनु नेपालको बाध्यता हो भने । उनले सङ्घीयताको मुख्य आधार स्थानीय तह हो भन्दै प्राविधिक तथा व्यावसायिक शिक्षालाई दिगो र उत्पादनमूलक बनाउने गरी स्थानीय तहसम्म पुर्याउनुपर्नेमा जोड दिए ।
राष्ट्रिय योजना आयोगका सदस्य गीता पौडेल अधिकारीले तीन तहको सरकारबीचमा समन्वय भएर प्राविधिक व्यावसायिक शिक्षा र तालिमका कार्यक्रमलाई वडा तहसम्म पुर्याउनु आवश्यक रहेको बताइन् ।








प्रतिक्रिया