बिहीबार, पुष १०, २०८२

इरानमा आठ महिनामा ८४१ जनालाई मृत्युदण्ड : संयुक्त राष्ट्रसङ्घ

नेपालखोज २०८२ भदौ १३ गते २०:१९

काठमाडौं । इरानमा यस वर्षको सुरुदेखि अहिलेसम्म कम्तीमा ८४१ जनालाई मृत्युदण्ड दिइएको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले सन् २०२५ को पूर्वाद्र्धमा तेहरानमा मृत्युदण्डको सङ्ख्यामा ठूलो वृद्धि भएको जनाएको छ ।

प्रवक्ता रविना शमदासानीले जेनेभामा पत्रकारसँग भने, ‘इरानी अधिकारीहरूले यस वर्षको सुरुदेखि अहिलेसम्म कम्तीमा ८४१ जनालाई मृत्युदण्ड दिएका छन् ।’

सन् २०२४ को जुलाईमा मात्रै इरानले कम्तीमा ११० जनालाई मृत्युदण्ड दिएको थियो । सन् २०२४ को जुलाईमा मृत्युदण्ड दिइएको भन्दा यो दुई गुणाले बढी हो ।

शमदासानीले भने, ‘मृत्युदण्डको उच्च सङ्ख्याले मृत्युदण्डलाई इरानले राज्यमा नागरिकहरूलाई तर्साउने औजारको रूपमा प्रयोग गर्ने व्यवस्थित ढाँचालाई सङ्केत गर्दछ र यसबाट जातीय अल्पसंख्यक र आप्रवासीहरूलाई असमान रूपमा लक्षित गरिएको छ ।’

उनले मृत्युदण्ड भएका व्यक्तिहरूमध्ये अधिकांश अफगानी, बलुच, कुर्द र अरब नागरिक रहेको उल्लेख गरे । इरानमा सन् २०२५ को पहिलो छ महिनामा लागूऔषधसम्बन्धी कसुरमा कम्तीमा २८९ जनालाई मृत्युदण्ड दिइएको छ ।

प्रतिक्रिया