बिहीबार, पुष १०, २०८२

गाजाको युद्धमा इजरायलमाथि प्रतिबन्ध लगाउने विषयमा ईयू विभाजित, कूटनीतिक पहल कमजोर हुने सङ्केत

नेपालखोज २०८२ भदौ १४ गते १७:१५

काठमाडौं । युरोपेली संघ (ईयू) का विदेश नीति प्रमुख काया कालासले गाजामा जारी द्वन्द्वको सन्दर्भमा इजरायलविरुद्ध प्रतिबन्ध लगाउने विषयमा सदस्य राष्ट्रहरूबीच एकमत नहुँदा तत्काल कुनै ठोस निर्णय लिन सकिने अवस्था नरहेको स्पष्ट पारेका छन् ।

डेनमार्कको राजधानी कोपनहेगनमा शनिबार सुरु भएको ईयू विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुँदै कालासले पत्रकारहरूसँग भने, ‘म यस विषयमा अत्यधिक आशावादी छैन । आजको बैठकबाट कुनै निर्णय आउने देखिँदैन ।’

बैठकमा इजरायली प्रविधि स्टार्टअपहरूलाई दिइँदै आएको युरोपेली संघको आर्थिक सहयोग स्थगन गर्ने प्रस्ताव मुख्य एजेन्डाका रूपमा उठाइएको छ । तर उक्त प्रस्तावमा आवश्यक समर्थन हालसम्म जुट्न नसकेको जनाइएको छ ।

गाजामा उत्पन्न गम्भीर मानवीय संकटका विषयमा युरोपेली संघले साझा रूपमा प्रभावकारी कदम चाल्न आवश्यक भएको आवाज केही सदस्य राष्ट्रहरूबाट उठ्दै आएको छ । यद्यपि, साझा निर्णयमा पुग्न कठिनाइ भएको देखिएको छ ।

डेनमार्कका विदेश मन्त्री लार्स लोके रस्मुसेनले युरोपेली संघले अब शब्दबाट बाहिर निस्केर व्यवहारिक कदम चाल्नुपर्ने आवश्यकता औँल्याए । उनले इजरायलसँगको व्यापारिक सहकार्य स्थगन गर्ने, अतिवादी नेताहरूलाई प्रतिबन्ध लगाउने, र अवैध यहुदी बस्तीबाट हुने वस्तु आयातमा रोक लगाउने जस्ता उपायहरूको समर्थन गरेका छन् ।

इजरायल र गाजाबीचको द्वन्द्वले लाखौं नागरिक प्रभावित भएका छन् । संयुक्त राष्ट्रसंघले गाजामा अकालको अवस्था घोषणा गरिसकेको छ ।

प्रतिक्रिया