आइतबार, मंसिर २८, २०८२

मिथिलाञ्चलमा आज राधाष्टमी उत्सव मनाइँदै

नेपालखोज २०८२ भदौ १५ गते १२:४४

महोत्तरी । मधेसको प्राचीन मिथिलाञ्चल क्षेत्रमा आज राधाष्टमी उत्सव मनाइँदैछ । द्वापरयुगमा भदौ शुक्लपक्ष अष्टमीका दिन भारतको उत्तरप्रदेशमा पर्ने गोकुलमा लक्ष्मी अवतारका रूपमा राधाको जन्म भएको विश्वासमा यो उत्सव मनाउने गरिएको हो । गोकुलका ग्वाला वृषभानुकी पुत्रीका रूपमा राधाको जन्म भएको हिन्दू जनविश्वास छ ।

ठिक १५ दिनअघि भदौ कृष्णपक्षको अष्टमी तिथिका दिन मथुरा कारागारमा जन्म भएर रातारात गोकुल पुर्याएका श्रीकृष्ण र राधा सँगसँगै खेल्ने बालसखा भएका कृष्णचरित्र र श्रीमद् भागवतमा वर्णन गरिएको लक्ष्मीनारायण लक्ष्मीनारायण मठ मटिहानीका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णले जानकारी दिए । राधा श्रीकृष्णकी अत्यन्त प्रिय छिन् । राधा लक्ष्मी अवतार र श्रीकृष्ण भगवान् विष्णुका आठौँ अवतार मानिन्छन् ।

गोकुलमा राधा र श्रीकृष्णको प्रीति अत्यन्त गाढा रहेको श्रीमद् भागवत महापुराणमा उल्लेख छ । पछि गोकुलबाट श्रीकृष्ण निस्केर द्वारका बस्न गएका थिए । प्र्रेम र समर्पण भावले सधैँ श्रीकृष्ण भज्नुभएकी राधा निःस्वार्थ प्रेमको पूजकका रूपमा हिन्दूबीच पूजित हुनुभएकी डा वैष्णले बताए । उनका अनुसार आज राधाजीको जन्म भएको दिनको सम्झनामा मिथिलाञ्चलका कैयौँ ठाउँमा राधाष्टमी मेला उत्सव आयोजना गरिएका छन् । यहाँका राधाकृष्ण मन्दिरमा बिहानैदेखि धार्मिक अनुष्ठान आयोजना गरिएको छ ।

राधा हिन्दू मान्यतामा आराध्य देवी भएकी हुँदा यहाँ उत्सवका रूपमा राधाष्टमी मनाउने गरिएको लक्ष्मीनारायण मठका उत्तराधिकारी डा वैष्णवले बताए । आज यहाँ सत्सङ्ग आयोजना गरिएको छ । राधाजी जन्मका पौराणिक कथाका आधारमा ती विषय समेटिएको भावका मङ्गलगान आज मिथिलाञ्चल क्षेत्रमा गुञ्जीरहेका उनले उल्लेख गरे । उनका अनुसार पर्वका अवसरमा आज साँझ विशेष धार्मिक अनुष्ठान आयोजना गरिँदै छ ।

प्रतिक्रिया