बिहीबार, पुष १०, २०८२

युद्धको चपेटामा सुडानका ऐतिहासिक सङ्ग्रहालय, अमूल्य सांस्कृतिक सम्पदा नष्ट

नेपालखोज २०८२ भदौ १६ गते १५:१०

खार्तुम । सुडानमा जारी हिंसात्मक द्वन्द्वले देशका ऐतिहासिक र सांस्कृतिक सम्पदाहरूलाई गहिरो क्षति पुर्याइरहेको छ । १८औँ शताब्दीमा शक्ति केन्द्रका रूपमा ख्याति कमाएको एक भवन, जसले लामो समयदेखि सङ्ग्रहालयको रूपमा सेवा दिँदै आएको थियो, अहिले तोपगोला र गोली प्रहारले क्षतविक्षत बनेको छ ।

भवनभित्रका झ्यालहरू चकनाचुर छन्, अनि सङ्ग्रहमा रहेका अमूल्य वस्तुहरू टुक्रा–टुक्रा भएर बिखण्डित अवस्थामा छन् । इतिहास संरक्षणको थलो अहिले युद्धले तहस–नहस बनाएको खण्डहरमा परिणत भएको छ ।

पश्चिमी सुडानको डारफुर क्षेत्रस्थित एल–फाशर सहरमा रहेको अली दिनार सङ्ग्रहालय, जुन सो क्षेत्रमा सबैभन्दा ठूलो थियो, हालैको भीषण लडाइँका कारण पूर्ण रूपमा नष्ट भएको बताइएको छ ।

त्यस्तै, दक्षिण डारफुर राज्यको राजधानी न्यालामा रहेको अर्काे संग्रहालय पनि पहुँच बाहिर रहेको स्थानीय स्रोतहरूले जनाएका छन् । ती स्रोतका अनुसार,संग्रहालय वरपरको क्षेत्र पूर्ण रूपमा ध्वस्त भइसकेको छ । अहिले त्यहाँ केवल आरएसएफका लडाकुहरू मात्र आवतजावत गर्न सक्छन् ।

सङ्ग्रहालय सैनिक आधारशिविरमा रूपान्तरण

सुदीर्घ समय बन्द रहेपछि पुनःनिर्माण गरी संचालनमा ल्याइएको एक सङ्ग्रहालय अहिले सैनिक प्रयोगका लागि उपयोग भइरहेको छ । सांस्कृतिक सम्पदा क्षेत्रका जानकार अब्दुल लतीफले भने, ‘यो संग्रहालय, जुन लामो प्रतीक्षापछि सर्वसाधारणका लागि खुला गरिएको थियो, अहिले सैनिक आधारशिविरमा रूपान्तरण भइसकेको छ ।’

सुडानको गृहयुद्धले केवल मानवीय जीवनमा मात्र नभई, देशको सांस्कृतिक पहिचान र ऐतिहासिक सम्पदामा पनि गम्भीर आघात पुर्याएको विश्लेषकहरू बताएका छन् । यस्तो अवस्थामा यस्ता थलोहरू संरक्षण गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित हुनु अत्यावश्यक देखिन्छ ।

प्रतिक्रिया