मदुरोको चेतावनी : भेनेजुएला क्यारेबियनमा अमेरिकी सैन्य उपस्थितिको जवाफ दिन तयार

काराकास । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार आफ्नो देश ‘अधिकतम तयारी’ मा रहेको र संयुक्त राज्य अमेरिकाले क्यारेबियनमा तैनाथ गरेको सेनाबाट आक्रमण भएमा जवाफ दिन तयार रहेको चेतावनी दिएका छन् ।
पत्रकार सम्मेलनमा उनले दिएका भनाइहरू अमेरिकी सरकारले ल्याटिन अमेरिकी ड्रग कार्टेलहरूको गतिविधि नियन्त्रण गर्न भन्दै भेनेजुएलाको पानीमा आफ्नो समुद्री शक्ति विस्तार गर्ने तयारीसँग मेल खान्छन् । अमेरिकाले हजारौँ कर्मचारी तैनाथ गरिसके पनि भूमि आक्रमणको सङ्केत भने अहिलेसम्म दिएको छैन । तर, मदुरो सरकारले आफ्नो तट र कोलम्बियासँगको सीमामा सेना पठाएर, साथै नागरिकलाई मिलिसियामा भर्ना हुन आग्रह गर्दै प्रतिक्रिया जनाइसकेको छ ।
यस असाधारण सैन्य दबाबको सामना गर्दै हामीले भेनेजुएलाको रक्षाका लागि अधिकतम तयारी घोषणा गरेका छौँ, मदुरोले भने । उनले यो तैनाथीलाई ‘अन्यायपूर्ण, अनैतिक, आपराधिक र रक्तपातपूर्ण खतरा’ का रूपमा चित्रण गरे । उनले यदि अमेरिकाले आक्रमण गर्यो भने संवैधानिक अधिकारअनुसार आफूले ‘अमेरिकाविरुद्ध हतियार उठाएको’ घोषणा गर्ने बताए । यद्यपि उनले यसबारे विस्तृत जानकारी भने दिएन ।
हाल अमेरिकी नौसेनासँग क्यारेबियन क्षेत्रमा दुई एजिस निर्देशित मिसाइल विध्वंसक – युएसएस ग्रेभली र युएसएस जेसन डनहम – रहेका छन् । साथै युएसएस स्याम्पसन विध्वंसक र युएसएस लेक एरी क्रूजर ल्याटिन अमेरिकी पानीमा तैनाथ छन् । अमेरिकी पक्षले यो सैन्य उपस्थितिलाई अझ विस्तार गर्ने तयारी गरेको छ । यसै सन्दर्भमा, तीनवटा जल र स्थलबाट आक्रमण गर्ने जहाजहरू यो हप्ताभित्रै उक्त क्षेत्रमा प्रवेश गर्ने एपीलाई एक अमेरिकी रक्षा अधिकारीले नाम नखुलाउने सर्तमा बताएका छन् । यी जहाजमा चार हजारभन्दा बढी नाविक र मरीन समावेश छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना समुदायमा फेन्टानिल र अन्य अवैध ड्रग्सको प्रवाह रोक्न तथा केही अमेरिकी सहरमा भइरहेको हिंसा नियन्त्रण गर्न सेनाको प्रयोग गर्न दबाब दिएका कारण यो तैनाथी गरिएको हो । सोमबार, भेनेजुएलाका विदेशमन्त्री यवान गिलले संयुक्त राष्ट्रसङ्घको एक रिपोर्ट उद्धृत गर्दै ल्याटिन अमेरिकी समकक्षीहरूसँग अमेरिकी नौसैनिक तैनाथी ‘गलत कथा’ मा आधारित रहेको बताए । उनका अनुसार, कोलम्बियामा उत्पादित करिब ८७ प्रतिशत कोकेन प्रशान्त हुँदै पठाइन्छ र जम्मा पाँच मात्र भेनेजुएला हुँदै सार्ने प्रयास हुन्छ ।








प्रतिक्रिया