बिहीबार, पुष १०, २०८२

जापानको सत्तारुढ दलका महासचिव मोरियामाको राजीनामा प्रस्ताव

नेपालखोज २०८२ भदौ १७ गते १६:२८

टोकियो । जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का महासचिव हिरोसी मोरियामाले जुलाईमा भएको विनाशकारी माथिल्लो सदनको चुनावी परिणामपछि मङ्गलबार पद त्याग्ने प्रस्ताव गरेका छन् । म चुनाव परिणामको जिम्मेवारी लिन महासचिवको पदबाट राजीनामा दिन चाहन्छु, मोरियामाले भने ।

तल्लो सदनमा अल्पमतको सरकारको स्थिति सिर्जना भएको केही महिनापछि जुलाई २० को चुनावमा एलडिपी नेतृत्वको गठबन्धनले बहुमत गुमाएको थियो । अब मोरियामाको भाग्यबारे अन्तिम निर्णय प्रधानमन्त्री शिगेरु इसिबाले गर्नेछन् । चुनाव परिणामबारे छलफल गर्न बसेको पार्टी बैठकमा मोरियामाले यस्तो टिप्पणी गरेका हुन् । इसिबाले भने अझै पार्टीभित्रबाट आएका राजीनामाका मागलाई अस्वीकार गर्दै ‘सही समय आउँदा उचित निर्णय गर्नेछु, जिम्मेवारी लिनबाट भाग्दिनँ, तर मेरो पदमा टाँसिरहने सोच पनि छैन’ भनेका छन् ।

यसबीच, एलडिपीका अन्य दुई शीर्ष अधिकारी—सामान्य परिषद्का अध्यक्ष सुनिची सुजुकी र नीति प्रमुख इतसुनोरी ओनोडेराले पनि इसिबालाई पद छोड्ने सङ्केत गरेका छन् । केन्द्र–दक्षिणपन्थी एलडिपीले सन् १९५० को दशकदेखि जापानमा लगभग निरन्तर शासन गर्दै आएको छ । करिब एक वर्षअघि मात्र सत्तारूढ जिम्मेवारी सम्हालेका इसिबाले हाल मुद्रास्फीति र भ्रष्टाचारसम्बन्धी घोटालाले पार्टीभित्र र बाहिर आलोचनाको सामना गरिरहनुभएको छ । तर गत हप्ताको जनमत सर्वेक्षणले चुनावपश्चात इसिबाको समर्थनमा सुधार देखाएको छ ।

दैनिक योमियुरी सिम्बुनले गरेको सर्वेक्षणअनुसार, ५० प्रतिशत उत्तरदाताले इसिबा रहनुपर्छ भनेका छन् भने ४२ प्रतिशतले राजीनामाको पक्षमा विचार व्यक्त गरेका छन् । योमियुरीले इसिबा सरकारले संयुक्त राज्य अमेरिकासँग गरेको व्यापार सम्झौता र चामलको मूल्य नियन्त्रणका लागि चालेका कदमले समर्थन पुनः बढाएको व्याख्या गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावको दुई दिनपछि मात्र जापानसँग ‘विशाल’ व्यापार सम्झौताको घोषणा गरेका थिए ।

सोअनुसार अमेरिकी कर २५ प्रतिशतबाट घटाएर १५ प्रतिशतमा ल्याइएको छ र कार उद्योगमा पनि समान दरमा कटौती गरिएको छ । यस व्यापार सम्झौताले इसिबाप्रति मतदाताको समर्थन जुन महिनामा २९ प्रतिशतबाट बढेर ४२ प्रतिशत पुगेको देखिएको छ । साथै, चामल उत्पादन बढाउनेतर्फ सरकारको नीति परिवर्तनलाई ८६ प्रतिशत जनताले अनुमोदन गरेका छन् ।

सन् २०२३ को तातो गर्मी र गत वर्षको ‘मेगाक्वेक’ चेतावनीपछि आपूर्ति समस्याले चामलको मूल्य आकासिँदा सरकार दबाबमा परेको थियो । तर मूल्य घटाउने उद्देश्यले आपत्कालीन भण्डारण सार्वजनिक गरिएको छ । यस क्रममा इसिबाले नयाँ कृषि मन्त्रीका रूपमा लोकप्रिय ४४ वर्षीय शिन्जिरो कोइजुमीलाई नियुक्त गरेका छन् । कोइजुमी सम्भावित नेतृत्वका लागि प्रतिस्पर्धी पनि मानिन्छन ।

प्रतिक्रिया