फेवाताल किनारबाट एभरेष्ट महिला भलिबल लिगको ट्रफी अनावरण

कास्की । पोखरामा यही भदौ २० गतेदेखि सञ्चालन हुने दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को ट्रफी सार्वजनिक गरिएको छ ।
देशको पर्यटकीय राजधानी पोखरास्थित फेवाताल किनारस्थित बाराहीघाटमा एक कार्यक्रम आयोजना गरी ट्रफी सार्वजनिक गरिएको हो । इन्फिनिटी ड्रिम्स प्रालीको आयोजनामा पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा हुने लिग भदौ २८ सम्म चल्नेछ ।
ट्रफी अनावरण गर्दै पोखरा महानगर प्रमुख धनराज आचार्यले पोखरा भ्रमण वर्ष २०२५ का सन्दर्भमा भलिबलको प्रतिष्ठित प्रतियोगिता आयोजना हुनु निकै महत्त्वपूर्ण हुने बताए । उनले भने, ‘पर्यटकीय राजधानी पोखरा खेल पर्यटनको पनि हब सिटी हो । यसले पोखराको पर्यटनलाई थप उचाइमा पु¥याउन र महिला भलिबल हेर्ने पोखरेली दर्शकको चाहानालाई पूरा गर्नेछ ।’
पोखरा इभेन्टहरूको सहरका रूपमा विकसित हुँदै गइरहेको पोखरालाई यसप्रकारका कार्यक्रमहरूले सदैव चलायमान बनाउन मद्दत गर्ने उनले विश्वास व्यक्त गरे । भलिबल खेलको आयोजना विकेन्द्रीकरण र खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित पोखरामा गर्न लागेको आयोजकले जनाएको छ ।
सुन्दर पोखरा सहर भलिबलप्रतिको उत्साह, सक्रिय खेल संस्कृति र दर्शकको उच्च सहभागिताका कारण यो लिगका लागि उपयुक्त स्थान मानिएको हो ।
सो अवसरमा नेपाल भलिबल सङ्घका सल्लाहकारद्वय हरिप्रसाद पराजुली र नारायणप्रसाद शर्मा, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पाहारी, पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपीबहादुर भट्टराईलगायत पर्यटन व्यवसायी एवं खेलप्रेमीको उल्लेख्य सहभागिता थियो ।
प्रतियोगितामा छ फ्रेञ्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा घरेलु टोली पोखरा निन्जाजसहित काठमाडौँ स्पाइकर्स, ललितपुर क्विन्स, कर्णाली यसबिस, मधेस युनाइेटेड र लुम्बिनी लाभाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको उद्घाटन पूर्वबिहीबार साँझ पोखराको लेकसाइडमा नगर प्रमुख नेतृत्वको ‘टिम धनराज’ र महानायक राजेश हमाल नेतृत्वको ‘टिम राजेश’का बीचमा मैत्रीपूर्ण भलिबल खेल हुनेछ । -रासस








प्रतिक्रिया