बिहीबार, पुष १०, २०८२

अमेरिकासँगको सम्बन्ध सकारात्मक रहेको भारतका प्रधानमन्त्री मोदीको भनाइ

नेपालखोज २०८२ भदौ २१ गते १६:३५

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यक्तिगत मित्रतालाई दोहोर्याएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार नयाँदिल्ली र वासिङ्टनबीच अझै पनि ’निकै सकारात्मक’ सम्बन्ध रहेको बताएका छन् ।

नयाँदिल्लीले रुसी तेल किनेर युक्रेनमाथि मस्कोले गरेको घातक आक्रमणलाई बढावा दिएको आरोप लगाउँदै वासिङ्टनले भारतीय आयातमा ५० प्रतिशतसम्म कर लगाएपछि उत्पन्न तनावका बीच यो आदानप्रदान भएको हो । राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच अमेरिकी राष्ट्रपतिको पहिलो कार्यकालदेखि नै बलियो सम्बन्ध रहँदै आएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रकारहरुसँग कुरा गर्दै आफू सधैं मोदीको मित्र रहने बताएका थिए ।

ट्रम्पले भारतलाई चीनसँग हारेको’ भन्ने आफ्नो पहिलेको टिप्पणीलाई बेवास्ता गर्दै भारतसँगको विशेष सम्बन्धलाई औल्याएका थिए ।

गत साता मोदीले साङ्घाई कोअपरेसन अर्गनाइजेसनको एक भेलामा भाग लिन चीन भ्रमण गरेका थिए, यो उनको सात वर्षपछि पहिलो पटक चीन भ्रमण हो ।

गत मे महिनामा आणविक शक्ति सम्पन्न छिमेकी राष्ट्रहरू भारत र पाकिस्तानबीच दशकौंँ यताकै सबैभन्दा खराब द्वन्द्वपछि शान्ति स्थापनाका लागि नोबेल पुरस्कारका लागि योग्य कूटनीतिको श्रेय लिने क्रममा ट्रम्प नयाँ दिल्लीप्रति चिढिएका थिए ।

काश्मिरमा तेस्रो पक्षको मध्यस्थतालाई ठाडै अस्वीकार गरेको भारतले त्यसयता ट्रम्पसँगको सम्बन्धमा सानिध्यता देखाएको देखिएको थिएन ।

प्रतिक्रिया