अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ७ सय ४० ट्याब्लेट सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सर्लाही लालबन्दी नगरपालिका–१४ घर भएका २४ वर्षीय बिशाल गोले र काठमाडौं शंखरापुर नगरपालिका–१ जरसिंहपौवा घर भएका ३० वर्षीय किरण भुजेल रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका–८ कण्ठपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ३० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका–५ बाँसगढी बस्ने २९ वर्षीय राजु थारू र बाँके राप्तीसोनारी गाउँपालिका–९ ढकेरी बस्ने २९ वर्षीय अनिल थारू रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बर्दियाको बाँसगढी नगरपालिका–८ ककौराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ४० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बहराईज अचकवा बस्ने २४ वर्षीय पंकज चौधरी र २० वर्षीय निर्मल चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरीको कोशी गाउँपालिका–८ तिनकुने चोकबाट नियन्त्रित लागूऔषध स्पास्मो ७२ ट्याब्लेट सहित सप्तरी सप्तकोशी नगरपालिका–१ बस्ने २८ वर्षीय राकेश दासलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भाण्टाबारी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०२–०५२ प २८५८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–२० कोकाहा खोला छेउबाट अवैध लागूऔषध गाँजा १० किलोग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा सहिदभुमी गाउँपालिका–३ बस्ने १९ वर्षीय निवास राई र २३ वर्षीय रोशन राई रहेका छन् । अस्थायी प्रहरी चौकी विष्णुपादुकाबाट खटिएको प्रहरीले चाँदीबजारबाट विष्णुपादुकातर्फ आउँदै गरेको प्र.०१–०५–००१ प ०५९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपलिका–२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ४ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका–४ बस्ने २८ वर्षीय अरूण गहतराजलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्कीको पोखरा महानगरपालिका–४ गैह्रापाटन बस्ने मादी गाउँपालिका–३ याङ्जाकोट घर भएका २८ वर्षीय राजेन्द्र परियारलाई नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १ सय ४६ एम्पुल, डाईजेपाम १ सय ४६ एम्पुल र फेनारगन १ सय ४७ एम्पुल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट सहित लमजुङ बेसीशहर नगरपालिका–७ बस्ने २६ वर्षीय सुनिल गुरूङलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले चितवनबाट बेसीशहर तर्फ जाँदै गरेको बा.३ ख २३८३ नम्बरको हाइसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट सहित गोरखा, गोरखा नगरपालिका–१३ तिनकिलो बस्ने ३० वर्षीय अपिल नेपालीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले चितवनबाट पोखरातर्फ जाँदै गरेको बा.प्र.०२ –००१ ख ९९१४ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कञ्चनपुरको बेलौरी नगरपालिका–९ अण्डैया टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम २ सय ५० मिलिग्राम सहित सोही नगरपालिका–९ झरना खोला बस्ने २४ वर्षीय गोविन्द बहादुर कठायतलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्डाडीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–१३ ताहाचल बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका–६ घर भएका ७० वर्षीय जिवनाथ तिमिल्सिनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक साविक माङ्खा गाविस–७ मा जित बहादुर तामाङको २०३७ कात्तिक ७ गते खुकुरी प्रहार गरी हत्या गरी फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१३ ताहाचलबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानीको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको छ ।
हत्या गरेको अभियोगमा पक्राउ
आफ्नै काकी ३५ वर्षीया बेलमती धामीको हत्या गरेको अभियोगमा सिगास गाउँपालिका–२ पेडेगोदा बस्ने ३० वर्षीय यज्ञ सिंह धामीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
यज्ञले बन्चरो प्रहार गर्दा बेलमतीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गाजरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैँचा नगरपालिका–१० डेरा गरी बस्ने पाँचथर घर भएका २० वर्षीय मौसम लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
लिम्बुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–१६ बकेनवास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले लु.८८ प २३३२ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा मोटरसाइकल चालक हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल पारासीमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–७ सेन्ट्रल अस्पतालस्थित सडकमा बा.२१ च ४३०१ नम्बरको पिकअपको ठक्करबाट कञ्चनपुर बेलौरी नगरपालिका–४ बस्ने ३० वर्षीया शर्मिला कालिकोटेको सोमबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै पिकअपको ठक्करबाट घाइते भएका अन्य १ जनाको सेन्ट्रल अस्पताल लक्ष्मीनियामा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
विभिन्न धनमाल चोरी
काठमाडौं महानगरपालिका–३ डेरा गरी बस्ने कपिलबस्तु घर भएकी २९ वर्षीया ज्योती पाण्डे र स्याङ्जा घर भएकी २८ वर्षीया निशा पाण्डेको कोठाबाट ल्यापटप २ थान र ट्याब २ थान गरी करिब १ लाख ९० हजार रूपैयाँ बराबरको सामान आइतबार बिहान चोरी भएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका–१६ बनस्थली चोक डेरा गरी बस्ने तनहुँ आँबुखैरेनी नगरपालिका–१ घर भएकी ४२ वर्षीया परिमाया गुरूङको कोठाबाट सुनका गरगहना गरी करिब ३ लाख १६ हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया