मंगलबार, वैशाख १८, २०८१

मान्छे एउटै नागरिकता दुई, ठगी ३४ करोड बढी

नेपालखोज २०७६ मंसिर १० गते ७:५२

१० मंसिर, काठमाडौँ । एक–दुई हजार, लाख मात्रै होइन…, करोड पनि होइन, करिब ३४ करोड रुपैयाँ ठगी भयो एउटै व्यक्तिले दुईवटा नागरिकता बनाए । अपत्यारिलो रकम ठग्दासम्म पनि बैंकका न शाखा प्रमुखले पत्तो पाए, न केन्द्रीय कार्यालयले नै । जब उनी राजीनामा दिएर विदेश पलायन भए, अनि बल्ल अन्य कर्मचारीले चाल पाए ।

हो, कृषि विकास बैंक स्वयम्भू शाखाका तत्कालीन अधिकृत केदारप्रसाद गौतमले आफ्नै नाम बदलेर तेजबहादुर थापा नाम राखे र कृत्रिम ग्राहक बने । त्यसअघि तेजबहादुर थापा नाममा नागरिकता निकाले, पासपोर्ट बनाए । आफ्नै बैंकमा त्यस नाममा खाता खोले । विदेशबाट रेमिट्यान्स आएको भन्दै पैसा झिक्दै त्यता हाले । बैंकका अन्य कर्मचारीले पत्तो समेत पाएनन् ।

अब उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परिसकेका छन् । गौतमसहित ८ जनाविरुद्ध जनही ३४ करोड बिगोसहित अदालतमा मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । गौतमको फर्जी कारोबार र रकम हिनामिनाबारे चुपचाप बसेका स्वयम्भूका तत्कालीन शाखा प्रबन्धक भरतबहादुर बानियाँविरुद्ध पनि अख्तियारले मुद्दा हालेको छ । गौतम र बानियाँ दुवैलाई १०÷१० वर्षको कैद माग गरिएको छ ।

गौतमले आफ्नो नक्कली नाम तेजबहादुरको खातामा ट्रान्सफर गरेको रकम कृषि विकास बैंकका विभिन्न शाखा कार्यालयबाट र अन्य विभिन्न बैंकबाट इलेक्ट्रोनिक चेक क्लियरिङ (ईसीसी) दुरुपयोग गरी भुक्तानी लिएको अख्तियारको अनुसन्धानले देखाएको छ ।

गौतम नक्कली नामबाट नागरिकता र राहदानी बनाएर विदेश फरार हुने योजनाअनुरूप भारत गएर बसेका थिए । उनलाई त्यही भारतको सिलिगुढीबाट पक्राउ गरिएको थियो । अहिले उनी पुर्पक्षका लागि थुनामा छन् । गौतमविरुद्ध अख्तियारले योजनाबद्ध ढंगबाट बैंकिङ प्रणालीको पासवर्ड चोरी गरी बैंकिङ सिस्टम दुरुपयोग गर्दै रकम हिनामिना गरेको र बैंकलाई नोक्सान पु¥याएको अभियोग लगाएको छ ।

शाखा अधिकृत गौतमले ०७१ असोजदेखि ०७२ असारसम्ममा गैरकानुनी तवरबाट ३३ करोड ९३ लाख रुपैयाँ निकाली बैंकलाई हानि पु¥याएको अख्तियारको दाबी छ । स्वयम्भूका तत्कालीन शाखा प्रबन्धक भरतबहादुर बानियाँले शाखा प्रबन्धकका हैसियतले रेमिट्यान्सलगायत आर्थिक कारोबार, कर्मचारी रेखदेख र नियन्त्रण, व्यवस्थापन र अभिलेख जाँच र दायित्व वहन नगरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

गौतमका दुई पत्नी छन् । जेठी पत्नी सम्झना पोखरेल गौतम र कान्छी पत्नी जेनी श्रेष्ठ गौतमले उक्त रकम दुरुपयोग गरेको अख्तियारले जनाएको छ । सम्झनाले पतिले बैंकबाट हिनामिना गरेको रकमबाटै कर्जा तिर्ने गरेको पाइएको छ । उनीमाथि गैरकानुनी तवरबाट निकालेको रकम कारोबार गर्न बैंक खाता खोल्न तथा बन्द गर्न प्रत्यक्ष संलग्न रहेको र आफ्नो नाममा भएका जग्गाजमिन सबै बेची हिनामिना गरेको रकम लुकाउन भारत बसाइँ सरेको आरोप छ ।

यस्तै कान्छी पत्नी जेनीले गौतमलाई विदेश फरार हुन सघाएको, नक्कली नागरिकता र राहदानी लिएर भारतमा बसेको जानकारी हुँदाहुँदै रकम लुकाउन र प्रयोग गर्न मद्दत गरेको आरोपपत्रमा उल्लेख छ । गौतमले बैंकको रकमबाट गाडीसमेत किनेका थिए ।

प्रतिक्रिया