बिहीबार, पुष १०, २०८२

उत्तर कोरियाकी किम जु ए ‘मान्यता प्राप्त उत्तराधिकारी’ : सियोल

नेपालखोज २०८२ भदौ २६ गते १४:१३

सियोल । दक्षिण कोरियाको जासुसी एजेन्सीले बिहीबार उत्तर कोरियाली नेता किम जोङ उनकी छोरी किम जु एलाई उनको औपचारिक उत्तराधिकारीका रूपमा मान्यता दिएको जनाएको छ । जु ए हालै बेइजिङको उच्चस्तरीय भ्रमणमा आफ्नो बुबासँग सहभागी भएकी थिइन् । यो भ्रमणमा उनले चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटिन् ।

यसरी पहिलो आधिकारिक विदेश भ्रमण गर्दा किशोरी जु एले यस महिनाको सुरुमा अन्तर्राष्ट्रिय ध्यान तानेकी थिइन् । विश्लेषकहरूले लामो समयदेखि उनलाई सम्भावित उत्तराधिकारीका रूपमा हेरिरहेका छन् । तर केहीले उनको जेठो दाजुलाई पनि गोप्य रूपमा सत्ताका लागि तयार पारिएको हुन सक्ने सङ्केत दिएका थिए ।

जु एले सम्भावित उत्तराधिकारीका रूपमा आफ्नो स्थिति बलियो बनाउन पर्याप्त ‘क्रान्तिकारी कथा’ सुरक्षित गरेकी छन्’, दक्षिण कोरियाली सांसद ली सेओङ–क्वेन भने, चीन भ्रमणमा उनको सहभागिता पनि त्यही उत्तराधिकार कथाको अंश हो । जु ए सन् २०२२ मा पहिलो पटक सार्वजनिक रूपमा देखिएकी थिइन् । त्यतिबेला उनले बुबासँग अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल प्रक्षेपण अवलोकन गरेकी थिइन् । त्यसपछि उत्तर कोरियाली राज्य मिडियाले उनलाई ‘प्रिय बच्चा’ र ‘मार्गदर्शन गर्ने महान व्यक्ति’ भनेर उल्लेख गर्न थाल्यो ।

यी शब्दहरू सामान्यतया शीर्ष नेताहरू र तिनका उत्तराधिकारीका लागि मात्र प्रयोग गरिन्छ । यसअघि उनको अस्तित्वको पुष्टि मात्र सन् २०१३ मा उत्तर कोरिया भ्रमण गरेका पूर्व एनबिए स्टार डेनिस रोडम्यानले गरेका थिए । उनले किम जोङ उनसँग भेट्दा जु एलाई भेटेको दाबी गरेका थिए । सियोलले सुरुआतमा किम र उनकी पत्नी रीले सन् २०१० मा पहिलो सन्तानका रूपमा पत्रुलाई जन्म दिनुभएको र जु ए दोस्रो सन्तान भएको सङ्केत गरेको थियो ।

तर सन् २०२३ मा दक्षिण कोरियाली एकीकरण मन्त्रीले किमको छोरा भएको विषयमा ‘निश्चित पुष्टि गर्न नसकिएको’ बताएका थिए । किम जोङ उन सन् २०११ मा आफ्नो बुबाको निधनपछि सत्तामा आए र उनले चार पटकको आणविक परीक्षण गराएको छ, जसको पछिल्लो परीक्षण सन् २०१७ मा भएको थियो ।

प्रतिक्रिया