बुधबार, पुष ९, २०८२

जेनजी प्रदर्शनपछि अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन घट्यो

नेपालखोज २०८२ असोज ३ गते २१:१०

गण्डकी । जेनजी प्रदर्शनपछि पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन घटेको छ । प्रदर्शनपछि भारतीय पर्यटक घटेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले बताए ।

जेनजी प्रदर्शन हुनुअघि एकै दिनमा ७०९ जनासम्म दक्षिण एसियाली मुलुकका पर्यटकले प्रवेश अनुमति लिएकामा त्यसपछि उक्त सङ्ख्या घटेर बिहीबार ७९ मा सीमित भएको छ ।

‘सार्क क्षेत्रभित्र भारतीय पर्यटकको सङ्ख्या घटेको छ, तेस्रो मुलुकका पर्यटक आगमन केही प्रभावित बनेको छ’, प्रमुख डा कडरियाले भने, ‘गत वर्षको तुलनामा यस वर्ष सेप्टेम्बरमा विदेशी पर्यटक झण्डै आधाले घट्ने देखिएको छ ।’ गत वर्ष सेप्टेम्बरमा २३ हजार ८८ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । यस वर्ष सेप्टेम्बर १८ अर्थात् बिहीबारसम्ममा जम्मा नौ हजार नौ सय ९९ पर्यटकले प्रवेश अनुमति लिएका छन् ।

जसमध्ये दक्षिण एसियाली मुलुकका पाँच हजार ५४९ र अन्य देशका चार हजार ४५० पर्यटक छन् । मुख्य पर्यटकीययाम सुरु भइरहेका बेला जेनजी प्रदर्शनले पर्यटक आगमन प्रभावित भएको प्रमुख डा कडरियाले बताए ।

पर्यटनका हिसाबले असोज र कात्तिक महिनालाई मुख्य मानिन्छ । दसैँ, तिहार जस्ता ठूला चाडवाड यहीँ बेला पर्ने भएकाले मानिस घुमफिरको योजना बनाइरहेका हुन्छन् । नेपाल सुरक्षित गन्तव्य हो भन्ने सन्देश विश्वमाझ दिएर पुनः पर्यटन क्षेत्रलाई लयमा फर्काउनुपर्ने ट्रेकिङ ऐजिन्सिज एशोसियशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।

विदेशी पर्यटकलाई सुरक्षित तवरले गन्तव्यस्थलसम्म पु¥याउने काममा ‘टान’लगायत पर्यटन सम्बद्ध सङ्घसंस्थाले सहजीकरण गरिरहेको अध्यक्ष आचार्यले बताए । गत आवमा दुई लाख ७८ हजार ११३ विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए ।

प्रतिक्रिया