इजरायलको धम्कीबाट विश्व समुदाय डराउनु हुँदैन : महासचिव गुटेरेस

काठमाडौं । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजरायलको धम्कीबाट विश्व समुदायलाई नआत्तिन आग्रह गरेका छन् ।
संयुक्त राष्ट्र मुख्यालयमा आयोजित एक अन्तर्वार्तामा महासचिव गुटेरेसले पछिल्लो समय इजरायलले कब्जा गरिरहेको पश्चिमी किनारको विषयमा गम्भीर चिन्ता व्यक्त गरे । उनका अनुसार, यो क्षेत्रको विस्तार अवैध हो र त्यसविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा स्पष्ट आवाज उठ्नुपर्छ ।
उनले भने, ‘हामीले इजरायलको सम्भावित प्रतिशोधको डर मानेर चुप लाग्नु हुँदैन । यस्ता कार्यहरू रोक्न अन्तर्राष्ट्रिय दबाब आवश्यक छ ।’
गुटेरेसले गाजा क्षेत्रमा भइरहेको मानवीय सङ्कटबारे समेत गहिरो चिन्ता व्यक्त गरे । उनका अनुसार, गाजामा हाल देखिएको मृत्यु, भोकमरी, औषधिको अभाव र आश्रयको अभाव अत्यन्तै दुःखद र असह्य छ ।
‘यो मेरो महासचिवको कार्यकालमा मात्र होइन, जीवनभर देखिएको सबैभन्दा भयावह मानवीय अवस्था हो,’ उनले भने ।
उक्त सन्दर्भमा, फ्रान्सको पहलमा १० देशले संयुक्त राष्ट्रको आगामी महासभामा प्यालेस्टाइनी राज्यलाई मान्यता दिने तयारी गरिरहँदा इजरायलले त्यसको कडा विरोध जनाउँदै पश्चिमी किनारमा औपचारिक रुपमा कब्जा जमाउने चेतावनी दिएको छ ।








प्रतिक्रिया