सबै बन्धकलाई ‘वेपत्ता इजरायली विमान चालक’ को नियति बनाउने हमासको चेतावनी

काठमाडौं । हमासको सशस्त्र शाखाले गाजामा बाँकी रहेका अधिकांश बन्धकहरूको ‘विदाइ’ हुनसक्ने भन्दै रिहा हुन बाँकी ४६ जनाको तस्बिर शनिबार प्रकाशित गरेको छ । हमासले गाजा शहरमा जारी पछिल्लो इजरायलको आक्रमणले उनीहरूलाई खतरामा पार्न सक्ने बताएको छ ।
यी तस्बिरहरूले सन् १९८६ मा लेबनानमा गोली हानेर मारिएका एक इजरायली विमान चालकको घटनालाई स्मरण गराएको छ ।
सन् २०२३ को अक्टोबरमा इजरायलमाथि आक्रमण गर्दा प्यालेस्टिनी लडाकुहरूले कब्जा गरेका २५१ जनामध्ये ४७ जना गाजामा छन्, जसमध्ये २५ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ ।
‘इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको जिद्दी र सैन्य प्रमुख इयाल जमिरको गाजालाई अधीनमा राख्ने पहलका कारण गाजा शहरमा कारबाहीको सुरूवातमा लिइएको एक ‘बिदाइ’ फोटो सार्वजनिक गरिएको छ,’ हमासको सशस्त्र शाखाले सार्वजनिक फोटोको साथ लेखेको छ ।
इजरायलले गाजा शहरको सबैभन्दा ठूलो शहरी केन्द्रमा हप्तौंको भारी हवाई आक्रमणपछि मङ्गलबार जमिनी आक्रमण सुरु गरेको छ ।
लाखौं बासिन्दाहरू भागेका छन् । यसैबीच, बन्धकका परिवारहरूले सरकारलाई आक्रमण रोक्न आग्रह गरेका छन् र यसले गाजामा अझै पनि कैदमा रहेका आफ्ना प्रियजनहरूको जीवन जोखिममा पार्ने चेतावनी दिएका छन् ।
हमासको एजेदिन अल-कसम ब्रिगेडले आफ्नो टेलिग्राम च्यानलमा बन्धकहरूको ४६ तस्बिरहरू जारी गरेको छ । सार्वजनिक प्रत्येक फोटोमा सन् १९८६ मा लेबनानी गृहयुद्धको समयमा दक्षिणी लेबनानमा खसेको इजरायली वायु सेनाका चालककोे नाम लेखिएको छ ।
चालक रोन अरादलाई सुरुमा लेबनानमा शिया समूहहरूले कब्जा गरेको विश्वास गरिएको थियो तर अहिले उहाँलाई मृत मानिएको छ । उहाँको अवशेष फिर्ता गरिएको छैन ।
हराएका वा कब्जा गरिएका सैनिकहरूलाई घर ल्याउनु राष्ट्रिय कर्तव्य मानिने यजरायलमा उहाँलाई दशकौंदेखि एक दुःखद् घटनाको स्मरण गराउने व्यक्तिका रूपमा चित्रित गरिँदै आएको छ ।








प्रतिक्रिया