बिहीबार, पुष १०, २०८२

न्युजिल्यान्डमा सुटकेस हत्या प्रकरणमा आमा दोषी ठहर

नेपालखोज २०८२ असोज ७ गते १५:४१

अकल्यान्ड । न्युजिल्यान्डकी एक आमालाई आफ्ना दुई सन्तानको हत्या गरी शव सुटकेसमा राखेको आरोपमा दोषी ठहर गरिएको छ । पैँतालिस वर्षीया हाक्युङ लीलाई उनका बच्चाहरूको अवशेष दक्षिण अकल्यान्डको भण्डारण एकाइमा रहेको सुटकेसमा फेला परेपछि सन् २०२२ मा सियोलबाट सुपुर्दगी गरिएको थियो ।

अधिकारीहरूले ती बालबालिका मृत्यु भएको तीनदेखि चार वर्षपछि मात्र शव भेटिएको विश्वास गरेका छन् । पीडित आठ वर्षीया युना जो र छ वर्षीया मिनु जो थिए । लीका वकिलहरूले उनको मानसिक अवस्था बिग्रिएको भन्दै पागलपनका कारण दोषी नभएको दाबी गरेका थिए ।

उनी सन् २०१७ मा पतिको मृत्युपछि गहिरो डिप्रेसनमा पुगेकी थिइन् । तर अभियोजन पक्षले लीलाई आफ्नो कार्यबारे सचेत भएको तर्क गर्‍यो । अकल्यान्ड उच्च अदालतको जुरीले दुई घण्टा छलफलपछि उनलाई दोषी ठहर गर्‍यो । अब उनलाई न्युजिल्यान्डको कानूनअनुसार न्यूनतम १० वर्ष बिना पैरोलदेखि अधिकतम आजीवन कारावाससम्मको सजाय हुनेछ ।

तीन हप्ते सुनुवाइमा ली सधैँ टाउको झुकाएर बसिन्, अनुहार कपालले ढाकिएको थियो । उनले अनुवादक र सुरक्षा गार्डबीच बसे पनि कार्यवाहीभर बोलिनन् वा प्रश्नको उत्तर दिइनन् । प्रतिरक्षा पक्षका वकिल लोरेन स्मिथले लीले आफ्ना बच्चाहरूलाई एन्टीडिप्रेसन्ट दिएको स्वीकार गरेको बताए ।

उनको विचारमा परिवारका सबै सदस्यले औषधि लिएर मृत्यु हुनु उत्तम हुने थियो । तर गलत मात्रा दिएपछि बालबालिकाको मृत्यु भएको र उनी उठ्दा बच्चाहरू मृत फेला परेका थिए । दुवै शव प्लास्टिकमा बेरेर छुट्टाछुट्टै आड़ू रङको सुटकेसमा राखिएको अवस्थामा भेटिएको प्रहरी अधिकारीले अदालतलाई बताए ।

प्रतिक्रिया