युक्रेनी नागरिकमाथि ‘व्यवस्थित यातना’ गरेको भन्दै राष्ट्रसङ्घद्वारा रुसको निन्दा

जेनेभा । रुसी अधिकारीहरूले युक्रेनी नागरिक बन्दीहरूलाई ‘व्यापक र व्यवस्थित ढङ्गले’ यौन हिंसासहित यातना दिएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयको ताजा प्रतिवेदनले सन् २०२२ फेब्रुअरीमा पूर्ण आक्रमण सुरु भएयता रुसले युक्रेनी नागरिक बन्दीहरूलाई अन्तर्राष्ट्रिय कानूनको ‘गम्भीर उल्लङ्घनको लगातार ढाँचामा’ राखेको निष्कर्ष निकालेको हो ।
सन् २०२३ जुनयता कब्जा गरिएका क्षेत्रबाट रिहा भएका दुई सय १६ सर्वसाधारणको अन्तर्वार्तामा, ९२ प्रतिशतले ‘कैद अवधिमा यातना वा दुर्व्यवहार’ भोगेको विवरण दिएका छन् । लाठी, बिजुलीको झटका, नक्कली मृत्युदण्ड, मृत्युको धम्की, अपमान र विभिन्न तनावपूर्ण अवस्थाहरू त्यस्ता विधिहरूमा समावेश थिए ।
प्रतिवेदनमा भनिएको छ, धेरै अन्तर्वार्ता लिनेहरूले नजरबन्द अवधिभर धेरै प्रकारका यातना वा दुर्व्यवहार सहनुपरेको विवरण दिएका छन् । सन् २०२५ मेमा युक्रेनी अधिकारीहरूले करिब एक हजार आठ सय नागरिकलाई रुसले हिरासतमा राखेको रिपोर्ट गरे पनि वास्तविक सङ्ख्या अझ बढी हुनसक्ने चेतावनी दिइएको छ । कानूनी सुरक्षाको बेवास्ता र जवाफदेहिताको अभावले बन्दीहरूलाई संरक्षणबाहिर राखेको प्रतिवेदनले औँल्याएको छ ।
संयुक्त राष्ट्र मानव अधिकार प्रमुख भोल्कर टर्कले भने, मानिसहरूलाई कब्जा गरिएका क्षेत्रमा सडकबाट जबर्जस्ती उठाइयो, कानूनी आधारविनै स्थानान्तरण गरी आरोप लगाइयो र लामो समयसम्म कैद गरियो । उनले शान्ति वार्तामा बन्दीहरूको मानव अधिकारलाई प्राथमिकता दिन आग्रह गरे ।
प्रतिवेदनले युक्रेनी अधिकारीहरूले हिरासतमा लिएका नागरिकहरूमाथि पनि ‘यातना र दुर्व्यवहार’ का केही घटना दर्ता गरेको छ । जुलाईको अन्त्यसम्म युक्रेनले पूर्व–परीक्षण र दण्ड सुविधामा दुई हजार दुई सय ५० भन्दा बढी द्वन्द्व–सम्बन्धित कैदी राखेको बताइएको छ, जसमा अधिकांश युक्रेनी नागरिक थिए ।
युक्रेनले आफ्ना नागरिकलाई राजद्रोह, जासुसी र रुसी कब्जा अधिकारीहरूसँग सहयोग गरेको अभियोगमा हिरासतमा लिएको पाइएको छ । प्रतिवेदनले कब्जाका समयमा आपत्कालीन सेवा, निर्माण, मानवीय राहत र फोहोर व्यवस्थापनमा संलग्न सामान्य कामलाई समेत मुद्दा लगाइएको उल्लेख गरेको छ ।








प्रतिक्रिया