वासिङ्टनमा सरिफ–ट्रम्प भेट, टिकटक सम्झौतामाथि आदेश तयारी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ओभल अफिसमा पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफसँग बन्द–ढोका सत्रसहित उच्च–स्तरीय द्विपक्षीय बैठक गर्ने तयारी भएको ह्वाइट हाउसले सार्वजनिक तालिकामा जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८०औँ महासभामा भाग लिएपछि सरिफ वासिङ्टन पुग्नेछन् । उनले बुधबार जलवायु शिखर सम्मेलनलाई सम्बोधन गर्दै पाकिस्तानको ऋण समस्या समाधान बिना विश्वव्यापी चुनौतीहरूको समाधान सम्भव नभएको चेतावनी दिएका थिए । यसले इस्लामाबादले हरितगृह ग्यास उत्सर्जन घटाउन चालेको दाबीलाई कमजोर बनाएको टिप्पणी गरिएको छ ।
मङ्गलबार ट्रम्प र पाकिस्तानसहित आठ इस्लामिक–अरब देशका नेताहरूबीच भेट हुँदा सरिफले अनौपचारिक रूपमा ट्रम्पसँग कुराकानी गरेका थिए । पाकिस्तानी विदेशमन्त्रीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै प्रधानमन्त्री शाहबाज र उपप्रधानमन्त्री/विदेशमन्त्री सिनेटर इशाक दार पनि छलफलमा सहभागी भएको बताएका छन् ।
तालिकाअनुसार, सरिफसँग भेटअघि राष्ट्रपति ट्रम्पले कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्नेछन् । यसमा टिकटक सुरक्षा सम्झौताको अन्तिम निर्णय पनि समावेश हुनेछ ।
सोमबार ह्वाइट हाउसले यसै साताभित्र सम्झौतामा ट्रम्पले हस्ताक्षर गर्ने घोषणा गरेको थियो । सम्झौताअनुसार टिकटक अमेरिकी लगानीकर्ताहरूको बहुमत स्वामित्वमा रहनेछ र राष्ट्रिय सुरक्षा तथा साइबर सुरक्षा विशेषज्ञता भएको बोर्डद्वारा सञ्चालित हुनेछ ।
ओरेकलले विश्वसनीय सुरक्षा प्रदायकका रूपमा सबै अमेरिकी प्रयोगकर्ता डाटाको स्वतन्त्र निगरानी गर्नेछ, जुन अमेरिकाभित्रैका ओरेकल सञ्चालित सर्भरहरूमा भण्डारण गरिनेछ ।








प्रतिक्रिया