बिहीबार, पुष १०, २०८२

इरान–रुस समझदारी : साना आणविक रिएक्टर निर्माणका लागि एमओयुमा हस्ताक्षर

नेपालखोज २०८२ असोज ९ गते १७:१८

तेहरान । इरान र रुसले बुधबार इरानमा साना मोड्युलर रिएक्टर (एसएमआर) निर्माणका लागि समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेका छन् । यो समझदारीले दुई देशबीच आणविक उर्जाको शान्तिपूर्ण प्रयोग, दिगो विकास, ऊर्जा सुरक्षा र उन्नत प्रविधिको सुदृढीकरणलाई प्रोत्साहित गर्ने उद्देश्य राखेको छ ।

एमओयुमा हस्ताक्षर इरानको आणविक ऊर्जा सङ्गठन (एइओआई) का प्रमुख मोहम्मद एस्लामी र रुसको राज्य आणविक ऊर्जा निगम रोसाटमका प्रमुख अलेक्सी लिखाचेभबीच भएको हो । समझदारी पत्रमा दुवै पक्षले भविष्यमा एसएमआरमा आधारित आणविक ऊर्जा संयन्त्रको डिजाइन र निर्माणका लागि थप सम्झौता तयार गर्ने योजना पनि उल्लेख गरिएको छ ।

एस्लामीको नेतृत्वमा एक प्रतिनिधिमण्डल सेप्टेम्बर २५ देखि २८ सम्म चल्ने विश्व आणविक सप्ताह फोरममा भाग लिन सोमबार मस्कोमा पुगेको थियो । एस्लामीले भने, तेहरान–मस्कोबीचको सम्झौताको ढाँचाभित्र रूसले इरानमा आठ आणविक ऊर्जा संयन्त्र निर्माण गर्ने अपेक्षा राखेको छ, जसमा दक्षिणी प्रान्त बुशहरमा चार संयन्त्र समावेश छन् ।

इरानले यस परियोजनाबाट २० हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ । एमओयुले दुवै देशलाई राष्ट्रिय नियम र अन्तर्राष्ट्रिय दायित्वको पालना गर्दै आणविक उर्जामा सहकार्य गर्न प्रेरित गर्नेछ । यस समझदारीले इरानको उर्जा संरचना सुदृढ गर्ने र रुससँग प्राविधिक तथा रणनीतिक साझेदारीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया