बिहीबार, पुष १०, २०८२

भारतको मिग-२१ लडाकू विमान छ दशकपछि सेवानिवृत्त

नेपालखोज २०८२ असोज १० गते १६:३८

काठमाडाैं । भारतले शुक्रबार सोभियत युगको मिग-२१ लडाकू जेटलाई आधिकारिक रूपमा अवकाश दिएको छ ।

एक समय वीरता र युद्धकौशलका लागि प्रशंसित यो विमान ६० वर्षभन्दा बढी सेवा पश्चात अन्ततः बिदाइ गरिँदा यसको नामसँग जोडिएको ‘फ्लाइङ कफिन’ को उपनाम पनि इतिहासमा सीमित भएको छ ।

भारतीय वायुसेनाले चीन र पाकिस्तानबाट दुई मोर्चामा सम्भावित सुरक्षा चुनौतीको सामना गर्न आफ्नो फ्लीटलाई विस्तार र आधुनिक बनाउनुपर्ने आवश्यकता औँल्याउँदै मिग-२१ सेवामुक्त भएको घोषणा गरेको हो ।

यो कदमसँगै वायुसेना हाल २९ स्क्वाड्रनमा सीमित भएको छ । यो सरकारद्वारा अनुमोदित ४२ स्क्वाड्रनभन्दा कम हो । हरेक स्क्वाड्रनमा १६ देखि १८ लडाकू जेट हुन्छन् ।

रक्षा विश्लेषक एन.सी. बिपिन्द्राले चेतावनी दिँदै भने, ‘यदि फ्लीटमा आएको गिरावटलाई तुरुन्तै रोकिएन भने भारतका छिमेकी विरोधीहरूसँग आधुनिक युद्धमा प्रतिस्पर्धा गर्न गाह्रो हुनेछ ।’

भारतले हाल फ्रान्स निर्मित राफेल र मिराज २०००, रूसी सु-३० र मिग-२९ का साथै स्वदेशी तेजस जेटहरू सञ्चालन गरिरहेको छ । तेजस कार्यक्रमलाई छिटो अघि बढाउन भारतले हालै ठूलो सङ्ख्यामा नयाँ अर्डर दिएको छ ।

प्रतिक्रिया