डेनमार्कमा सैन्य पूर्वाधार नजिक फेरि रहस्यमय ड्रोन देखापरे, सुरक्षा सतर्कता कडा

कोपनहेगन । डेनमार्कको रक्षा मन्त्रालयले शुक्रबारदेखि शनिबार रातिसम्म देशका विभिन्न रक्षा सुविधाहरू वरपर नयाँ ड्रोन देखिएको पुष्टि गरेको छ । यसअघि पनि नर्डिक क्षेत्रका हवाई अड्डाहरूमा ड्रोन देखिएर अस्थायी रूपमा सञ्चालन बन्द गर्नुपरेको थियो ।
मन्त्रालयले ठ्याक्कै कुन स्थानमा ड्रोन देखिएको भन्ने विवरण सार्वजनिक नगरे पनि डेनमार्कको सार्वजनिक प्रसारणकर्ता डिआरले सैन्य करुप एयर बेस वरिपरि र त्यसको बाडभित्र समेत करिब राति ८ बजे ड्रोन देखिएको प्रहरी स्रोतलाई उद्धृत गर्दै जनाएको छ । केही समयका लागि हवाई क्षेत्र नागरिक उड्डयनका लागि बन्द गरिए पनि हाल करुपमा नागरिक उडान नहुँदा त्यसको प्रत्यक्ष प्रभाव खासै परेन ।
बुधबारदेखि बिहीबार रातिसम्म कोपनहेगनसहित चारवटा हवाई अड्डामा देखिएको यस्तै गतिविधिले उत्तरी युरोपमा सुरक्षा चिन्ता थप बढाएको छ । राजधानीमा सोमबार राति देखिएको ड्रोनले घण्टौँसम्म उडान अवरुद्ध गरेको थियो । ‘यी ड्रोन गतिविधिहरूको मुख्य उद्देश्य डर र विभाजन सिर्जना गर्नु हो, न्यायमन्त्री पिटर हम्मेलगार्डले चेतावनी दिँदै भने, डेनमार्कले यस्ता खतरा असरविहीन पार्ने थप उपाय खोज्नेछ ।
उनले आवश्यक परे पूर्वाधार सञ्चालकहरूलाई सीधै ड्रोन खसाल्न अनुमति दिने कानून ल्याउने तयारीसमेत रहेको बताए । युरोपेली सङ्घ (इयु) को आगामी शिखर सम्मेलनलाई दृष्टिगत गर्दै रक्षा मन्त्रालयले स्विडेनबाट डेनमार्कलाई सैन्य एन्टी–ड्रोन क्षमता उपलब्ध गराउने प्रस्ताव स्वीकार गरेको जनाएको छ । यता, छिमेकी जर्मनीको उत्तरी राज्य श्लेसविग–होल्स्टाइनमा पनि बिहीबारदेखि शुक्रबार रातिसम्म धेरै ड्रोन देखिएको रिपोर्ट गरिएको छ ।
राज्यकी गृहमन्त्री सबिन सुटरलिन–वाकले ‘हाल ड्रोन प्रतिरक्षा उपायहरू अन्य राज्यहरूसँग मिलेर उल्लेखनीय रूपमा बढाइएको छ’ भन्दै थप विवरण भने नदिने बताए । जर्मन चान्सलर फ्रेडरिक मेर्जले भने, ‘हामी युद्धमा छैनौँ, तर अब शान्तिमा पनि छैनौँ’ भन्दै युरोपका पूर्वाधार र डाटा नेटवर्कमाथि भइरहेको लगातार आक्रमणले ठूलो चुनौती उत्पन्न गरेको बताए ।
उनले कुनै निश्चित देशलाई प्रत्यक्ष रूपमा दोष नदिए पनि ‘ड्रोन उडान, जासुसी, सार्वजनिक व्यक्तित्वमाथि खतरा, साइबरआक्रमण र तोडफोडजस्ता गतिविधि दैनिक आधारमा भइरहेको’ चेतावनी दिए । उनले उदाहरण स्वरूप सन् २०१९ मा बर्लिनको टियरगार्टन हत्या प्रकरणलाई स्मरण गए । उक्त प्रकरणमा रूससँग लडेका जर्जियाली नागरिक जेलिमखान खांगोसभिलीको हत्या भएको थियो ।
उक्त हत्यामा संलग्न भनी दोषी ठहरिएका भादिम क्रासिकोभलाई सन् २०२४ मा रूस–अमेरिका कैदी आदानप्रदानअन्तर्गत मस्को पठाइएको थियो । यी पछिल्ला घटनाहरूले उत्तरी युरोपमा सुरक्षा संयन्त्रलाई सतर्क गराउनुका साथै सम्भावित बाह्य आक्रमण वा हाइब्रिड युद्धको आशङ्कामा क्षेत्रीय सहयोग अझै अपरिहार्य हुने सङ्केत दिएका छन् ।








प्रतिक्रिया