शिक्षकले पाउँदैनन् नियमित तलबः शिक्षामन्त्रीबाट स्थानीय तह र प्रधानाध्यापकलाई ताकेता

काठमाडौं । सामुदायिक विद्यालयका कतिपय शिक्षकहरूले समयमा तलब नपाएका बारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले चासो दिएपछि कुन स्थानीय तहका कुन विद्यालयका शिक्षकले तलब पाउन बाँकी छ भन्ने खोजी सुरु भएको छ ।
शिक्षामन्त्री पुनले केन्द्र सरकारबाट रकम निकासा भइसकेको अवस्थामा सामुदायिक विद्यालयका कतिपय शिक्षकहरूले दसैँ आए पनि तलब नपाएको गुनासो सुनिएको भन्दै आज सामाजिक सञ्जाल ‘फेसबुक’मार्फत आइतबारसम्म तलब दिन सम्बन्धित स्थानीय तह र प्रधानाध्यापकलाई ध्यानाकर्षण गराए । उनले बिनाकारण शिक्षकको तलब नदिने स्थानीय तह र प्रधानाध्यापकलाई कारबाही गर्ने चेतावनी पनि दिए।
केन्द्र सरकारले प्रचलित कानुन वा निर्र्देशन नमान्ने स्थानीय तहको सम्बन्धित शीर्षकको अनुदान रोक्का गर्न सक्छ तर जनप्रतिनिधिलाई सिधै कारबाही गर्न भने सक्दैन । प्रधानाध्यापकलाई पनि केन्द्र सरकारले आवश्यक कारबाही गर्न सक्नेछ ।
स्थानीय तहले हरेक तीन–तीन महिनाको रकम निकासा दिएपछि सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीले तीन महिनाको एकमुष्ट तलब पाउँछन् । आन्तरिक स्रोत हुने विद्यालयले मासिक तलब खुवाएर पालिकाबाट निकासा आएपछि शोधभर्ना गर्छन् । कतिपय स्थानीय तहमा प्रमुख र उपप्रमुखको विवादका कारण पनि समयमा तलब नपाउने समस्या हुने गरेको छ । निजी (संस्थागत) विद्यालयका शिक्षकको सेवासुविधाबारे आफ्नै समस्या छ ।
नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकहरूले समयमा तलब खान पाऊन् भन्ने भावनाका साथ शिक्षमन्त्री पुनबाट ध्यानाकर्षण हुनुलाई सकारात्मक मान्दै नयाँ मन्त्री भएकाले प्रक्रियागत विषयमा केही अस्पष्टता हुन सक्ने बताए । उनले विद्यालयमा स्थानीय तहबाट रकम आइसकेपछि प्रधानाध्यापकले बिनाकारण तलब नरोक्ने स्पष्ट गरे ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष हंसबहादुर शाहीले आफूहरूले मासिक रूपमा शिक्षक-कर्मचारीले तलब पाउनुपर्छ भन्ने आवाज उठाएपछि गत वर्ष केन्द्र सरकारबाट ‘सर्कुलर’ जारी भएको बताए । अहिले पनि कतिपय पालिकामा समस्या कायमै रहेको उनले गुनासो गरे । उनले सङ्खुवासभाको मादी नगरपालिका र अन्य केही स्थानीय तहले करार शिक्षकको अवधि थप नभएको भन्दै तलब रोक्का गरेको विषयमा आफूहरूले सरोकार भएका निकायको ध्यानाकर्षण गराउँदै आइएको जनाए ।
काठमाडौंको तारकेश्वर नगरपालिकाका उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले प्राविधिक कारणले कहिलेकाहीँ शिक्षक र स्वास्थ्यकर्मीको तलब निकासामा ढिलाइ हुने भए पनि क्रमशः समस्या समाधान हुँदै आएको बताए । सोही पालिकामा पर्ने नागार्जुन माध्यमिक विद्यालयका लेखापाल रामशरण फुयाँलले आजसम्म पालिकाबाट रकम निकासा नआएको बताउँदै आइतबारसम्म आएमा तलब वितरण हुने अपेक्षा गरे ।








प्रतिक्रिया