बुधबार, पुष ९, २०८२

गाजा युद्धविराममा सहमति : हमासद्वारा बन्धक मुक्त, इजरायलले कैदीहरू रिहा गर्ने

नेपालखोज २०८२ असोज २३ गते ११:३७

कायरो । इजरायल र हमासबीच बिहीबार गाजा युद्धविराम सम्झौतामा सहमति भएपछि दुई वर्षभन्दा बढी समयदेखि जारी रक्तपातपूर्ण युद्ध अन्त्य हुने सम्भावना देखिएको छ । यस सम्झौताले बाँकी जीवित इजरायली बन्धकहरूलाई केही दिनभित्रै मुक्त गर्ने बाटो खुलाएको छ । यसले युद्धले हजारौँको ज्यान लिएको र गाजामा गम्भीर मानवीय सङ्कट निम्त्याएको युद्धको अन्त्यतर्फको एक निर्णायक कदमका रूपमा हेरिएको छ ।

सम्झौतामा बिहीबार नै हस्ताक्षर हुने बताइएको छ । सम्झौताले इजरायललाई सयौँ प्यालेस्टिनी कैदीहरू रिहा गर्न र गाजामा मानवीय सहयोग बढाउन आह्वान गर्दछ । यो सम्झौता सन् २०२३ अक्टोबरमा हमासको इजरायलमाथिको अभूतपूर्व आक्रमणपछि सुरु भएको युद्धको समाप्तितर्फको नयाँ चरण हो । हमासले सबै बन्धकहरूलाई मुक्त गर्नेछ र इजरायली सेनाले सहमति भएको रेखासम्म फिर्ता हुनेछ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो २०–बुँदे शान्ति योजनाअन्तर्गत इजिप्टमा भएको वार्तापछि घोषणा गर्दै भने, म विश्वस्त छु, सबै बन्धकहरू सोमबारसम्म फिर्ता हुनेछन् ।

हमासभित्रका एक वरिष्ठ स्रोतका अनुसार समूहले सम्झौताको पहिलो चरणमा करिब दुई हजार प्यालेस्टिनी कैदीहरूको सट्टामा २० जीवित इजरायली बन्धकहरू रिहा गर्नेछ । यो आदानप्रदान सम्झौता कार्यान्वयन भएको ७२ घण्टाभित्र सम्पन्न हुनेछ । ट्रम्पले गाजाको पुनर्निर्माण तथा शान्ति स्थापनामा वासिङ्टनको सक्रिय भूमिका रहने बताएका छन् । उनका अनुसार यो युद्धविराम केवल युद्ध अन्त्यको नभई, स्थायी शान्तिको सुरुआत हो ।

गाजाका विस्थापित नागरिक समीर जुदेहले भने, दुई वर्षसम्म हामी निरन्तर बम, आतङ्क, विनाश र मृत्युको डरमा बाँच्यौँ । आज जब यो खबर सुनेँ, खुसीका आँसु रोक्न सकिनँ । अब हामीलाई अन्ततः शान्तिको सास फेर्ने मौका मिलेको अनुभूति भइरहेको छ । कतारले यस सम्झौतालाई ‘गाजा युद्धविरामको पहिलो चरण’ भन्दै स्वागत गरेको छ । कतारी विदेश मन्त्रालयले जारी विज्ञप्तिमा भनिएको छ, यो सम्झौता युद्धको अन्त्य, बन्धक र कैदीहरूको रिहाइ र मानवीय सहयोगको प्रवेशको प्रारम्भ हो ।

हमासका स्रोतका अनुसार २५० जना आजीवन कारावास सजाय पाएका र एक हजार सात सय अन्य प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिनेछ । इजरायली प्रधानमन्त्री माननीय बेन्जामिन नेतान्याहुले ‘भगवानको कृपाले हामी हाम्रा नागरिकहरूलाई घर फर्काउनेछौँ’ भन्दै प्रतिक्रिया दिए । उनका अनुसार सम्झौताको अनुमोदनका लागि मन्त्रिपरिषद् बैठक बिहीबार नै बस्नेछ । ट्रम्पले केही दिनअघि नै उक्त सम्झौता ‘धेरै नजिक’ रहेको बताउनुभएको थियो र यस हप्ता नै मध्यपूर्वको यात्रा गर्ने सङ्केत पनि गरेका थिए ।

एएफपीका पत्रकारका अनुसार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बुधबार ह्वाइट हाउसमा ट्रम्पलाई इजिप्ट वार्ताको प्रगतिबारे तत्काल जानकारी दिएपछि घटनाक्रम तीव्र बनेको हो । ट्रम्पले भने, म आइतबारतिर इजिप्ट पुग्ने योजना बनाइरहेको छु र गाजाको अवस्थाबारे प्रत्यक्ष अवलोकन गर्ने सोच पनि छ । ट्रम्प शान्ति योजनाले युद्धविराम, सबै बन्धकहरूको रिहाइ, हमासको निःशस्त्रीकरण र इजरायली सेनाको चरणबद्ध फिर्तीको प्रस्ताव गर्दछ । हमासले युद्धविरामको पहिलो चरणमा रिहाइ गर्न चाहेका प्यालेस्टिनी कैदीहरूको सूची इजरायललाई बुझाइसकेको छ ।

बदलामा, हमासले बाँकी रहेका ४७ जना बन्धकहरू — जीवित र मृत दुवै — मुक्त गर्ने तयारी गरेको जनाएको छ । ती सबै बन्धकहरू सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको हमास आक्रमणका क्रममा नियन्त्रणमा लिइएका थिए । हमासका अनुसार यस सम्झौतामा इस्लामिक जिहाद र प्यालेस्टाइन मुक्ति लोकप्रिय मोर्चाका प्रतिनिधिहरू पनि सहभागी हुनेछन् । आधिकारिक इजरायली तथ्याङ्कअनुसार हमासको आक्रमणमा एक हजार २१९ जनाको मृत्यु भएको थियो, जसमा अधिकांश नागरिक थिए ।

दुई सय ५१ जनालाई गाजामा बन्धक बनाइएको थियो, जसमा ४७ जना अझै बाँकी छन् । इजरायली सेनाका अनुसार तीमध्ये २५ जनाको मृत्यु भइसकेको छ । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको सैन्य आक्रमणमा कम्तीमा ६७ हजार १८३ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घले यो तथ्याङ्कलाई विश्वसनीय मानेको छ । मृतकमध्ये आधाभन्दा बढी महिला र बालबालिका रहेको जनाइएको छ । युद्धविराम सम्झौता हुनुअघि पनि गाजामा बमबारी जारी थियो । हमासको नियन्त्रणमा रहेको नागरिक सुरक्षा निकायका अनुसार सम्झौता घोषणा हुनु केही घण्टा अघि समेत विस्फोटको आवाज गुञ्जिएको थियो ।

विश्वव्यापी दबाबका कारण युद्ध अन्त्यको माग तीव्र बनेको छ । गाजाको अधिकांश क्षेत्र ध्वस्त भइसकेको छ । संयुक्त राष्ट्रसङ्घले अनिकालको चेतावनी जारी गरेको छ र इजरायली बन्धक परिवारहरू आफ्ना प्रियजनहरूको फिर्तीका लागि अझै प्रार्थना गरिरहेका छन् । वार्ताको एउटा मुख्य मुद्दा हमासले माग गरेको प्यालेस्टिनी कैदीहरूको सूची थियो, जसमा फतह आन्दोलनका वरिष्ठ नेता मारवान बारघौती पनि समावेश छन् । हमासका प्रमुख वार्ताकार खलिल अल–हयाले भने, हामीले राष्ट्रपति ट्रम्प र सहभागी राष्ट्रहरूबाट स्थायी शान्तिको ग्यारेन्टी चाहेका छौँ । यो युद्ध अब सधैँका लागि अन्त्य हुनुपर्छ ।

प्रतिक्रिया