मडागास्करका राष्ट्रपति राजोलिनाद्वारा राजीनामाको आह्वान अस्वीकार, ‘सुरक्षित स्थान’ मा शरण

एन्टानानारिभो (मडागास्कर) । मडागास्करका सङ्कटग्रस्त राष्ट्रपति एन्ड्री राजोलिनाले सोमबार आफ्नो ज्यानमाथि भएको आक्रमण प्रयासपछि आफू अहिले ‘सुरक्षित स्थान’ मा रहेको बताउँदै बढ्दो अशान्ति र विरोधका बीच पनि राजीनामाको आह्वानलाई अस्वीकार गरेका छन् ।
देशमा फैलिएको विरोध प्रदर्शन र सेनाको केही हिस्साले सरकार विरोधी आन्दोलनमा समर्थन जनाएपछि दुई पटक ढिलाइ भएको भाषणमार्फत उनले पहिलोपटक सार्वजनिक रूपमा आफ्नो अवस्था स्पष्ट पारेका हुन् । पछिल्ला दिनहरूमा उनी देश छोडेर भाग्नुभएको हुनसक्ने भन्ने समाचारहरू पनि सार्वजनिक भएका थिए ।
सेप्टेम्बर २५ देखि मेरो ज्यान लिने र विद्रोह गर्ने प्रयासहरू भइरहेका छन् । केही सैन्य अधिकारी र राजनीतिज्ञको समूहले मेरो हत्या गर्ने योजना बनाएको थियो, उनले फेसबुकमार्फत प्रत्यक्ष सम्बोधन गर्दै र आफ्नो स्थान गोप्य राख्दै भने, त्यस कारण म आफ्नो जीवनको सुरक्षाका लागि सुरक्षित स्थानमा रहन बाध्य भएँ ।
राजधानी एन्टानानारिभोमा भइरहेको प्रदर्शनहरू प्रारम्भमा दीर्घकालीन बिजुली र पानी आपूर्तिमा अवरोधको विरोधमा सुरु भएका थिए । तर ती आन्दोलनहरू क्रमशः व्यापक सरकारविरोधी अभियानमा परिणत हुँदै राष्ट्रपतिको राजीनामाको मागमा केन्द्रित भएका छन् ।
राजधानीका पूर्व मेयर समेत रहेका राष्ट्रपति राजोलिनाले भने संविधानको सम्मान गर्न सबैलाई आह्वान गर्दै ‘म समाधान खोज्ने अभियानमा छु,’ भनेका छन् ।
सन् २००९ मा तत्कालीन राष्ट्रपति मार्क रावलमानानालाई अपदस्थ गर्ने विद्रोहपछि राजोलिना पहिलोपटक सत्तामा आउनुभएको थियो । हाल फेरि उही किसिमको राजनीतिक तनावले देशलाई सङ्कटमा धकेलेको छ ।
यसैबीच फ्रान्सेली सञ्चारमाध्यम रेडियो फ्रान्स इन्टरनेसनलले राजोलिनाले सप्ताहन्तमा फ्रान्सेली सैन्य विमानमार्फत देश छोडेको दाबी गरेको छ । यद्यपि फ्रान्सेली अधिकारीहरूले यसबारे एएफपीको प्रश्नमा प्रतिक्रिया जनाएका छैनन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि उक्त समाचार पुष्टि गर्न अस्वीकार गर्दै टापु राष्ट्रको सङ्कटप्रति ‘गहिरो चिन्ता’ व्यक्त गरेका छन् ।
राजोलिना बुधबारदेखि सार्वजनिक रूपमा देखिएको छैन । सशस्त्र बलका केही समूहले राज्य प्रसारकमा कब्जा जमाउने प्रयास गरेका कारण राज्य टेलिभिजनमार्फत प्रसारण हुने भनिएको उनको सम्बोधन पनि दुई पटक ढिलाइ गरिएको थियो ।
सप्ताहन्तमा एन्टानानारिभोको सिटी हल अगाडि भेला भएका हजारौँ प्रदर्शनकारीहरूको समर्थनमा विद्रोही सैनिक र सुरक्षाकर्मीहरू समेत सामेल भएका थिए । तीमध्ये केहीले सन् २००९ को विद्रोहमा समेत भूमिका खेलेका थिए । शनिबार उक्त युनिटले ‘विरोधमा गोली चलाउने आदेश अस्वीकार गर्ने’ घोषणा गरेको थियो ।
विरोधका क्रममा अर्धसैनिक प्रहरी बलका केही अधिकारी पनि प्रदर्शन स्थलमा पुगेका थिए । उनीहरूले पछिल्लो भिडियो सन्देशमार्फत ‘आफ्नो प्रतिक्रियामा गल्ती र ज्यादती भएको’ स्वीकार गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार प्रदर्शनको पहिलो दिनमै कम्तीमा २२ जनाको मृत्यु भएको छ, जसमा केही सुरक्षा बलका सदस्य पनि परेका छन् । राष्ट्रपतिले भने आधिकारिक रूपमा ‘१२ जनाको मृत्यु मात्र पुष्टि भएको र ती सबै लुटेरा वा भिडन्तमा संलग्न व्यक्ति’ भएको दाबी गरेका छन् ।
दबाब बढ्दै गएपछि राजोलिनाले सोमबार २०२१ को असफल विद्रोह प्रयासमा जेल सजाय पाएका आठ जना लाई माफी दिएको छ । तिनीहरूमा फ्रान्सेली–मालागासी नागरिक पल मैलोट राफानोहाराना पनि समावेश छन् ।
सन् १९६० मा फ्रान्सबाट स्वतन्त्रता प्राप्त गरेदेखि नै मडागास्करमा राजनीतिक अस्थिरता र सैनिक हस्तक्षेप दोहोरिँदै आएको छ । पछिल्लो घटनाक्रमले फेरि एकपटक देशलाई गम्भीर सङ्कटतर्फ धकेलेको छ ।
अफ्रिकी सङ्घको सुरक्षा परिषद्ले सबै सशस्त्र सेनालाई ‘संविधानको पालना गर्न र देशको राजनीतिक मामिलामा हस्तक्षेप नगर्न’ आग्रह गर्दै संयम र शान्तिपूर्ण समाधानको आह्वान गरेको छ ।








प्रतिक्रिया