बुधबार, पुष ९, २०८२

ट्रम्पको टिप्पणीपछि भारतको स्पष्ट भनाइ- ‘ऊर्जा नीतिमा उपभोक्ताको हित नै पहिलो प्राथमिकता’

नेपालखोज २०८२ असोज ३० गते १४:१३

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसी तेल खरिद बन्द गर्ने वाचा गरेको दाबी गरेपछि भारत सरकारले बिहीबार आफ्नो ऊर्जा नीति सधैँ आफ्ना नागरिकहरूको हितमा केन्द्रित हुने स्पष्ट वक्तव्य जारी गरेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले विज्ञप्ति जारी गर्दै भने, ‘अस्थिर ऊर्जा बजार र जटिल भू–राजनीतिक परिदृश्यमा भारतीय उपभोक्ताको हितको रक्षा गर्नु नै हाम्रो निरन्तर प्राथमिकता हो । हाम्रो आयात नीति पूर्ण रूपमा यही उद्देश्यद्वारा निर्देशित छ ।’

भारतले अहिलेसम्म रुसतर्फको आफ्नो नीतिमा कुनै परिवर्तन भएको न त पुष्टि गरेको छ न त अस्वीकार । यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन युद्धका बीच पनि रुससँगको ऐतिहासिक साझेदारी कायम राख्दै मस्कोबाट तेल खरिद गर्ने निर्णयलाई उचित ठहर गरेका थिए ।

ट्रम्पले केही समयअघि भारतले रुसी तेल खरिद बन्द गर्ने वाचा गरेको बताउनुभएको थियो । तर नयाँदिल्लीले यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।

अमेरिकी प्रशासन र भारतबीचको व्यापारिक सम्बन्ध पनि हाल केही तनावपूर्ण बनेको छ । गत अगस्टमा राष्ट्रपति ट्रम्पले भारतबाट अमेरिकामा हुने निर्यातमा कर ५० प्रतिशतसम्म बढाएका थिए । त्यसपछि उनका सहयोगीहरूले भारतमाथि युक्रेनमा रुसको युद्धलाई अप्रत्यक्ष रूपमा सहयोग गरेको आरोप लगाएका थिए ।

यसबीच प्रवक्ता जायसवालले पुनः दोहोर्याए, ऊर्जाको स्थिर मूल्य र सुरक्षित आपूर्ति सुनिश्चित गर्नु हाम्रो ऊर्जा नीतिका मुख्य दुई उद्देश्य हुन् । यसका लागि हामीले ऊर्जा स्रोतहरूको विविधीकरणलाई निरन्तर प्राथमिकता दिएका छौँ ।’

भारत विश्वकै सबैभन्दा ठूलो कच्चा तेल आयातकर्तामध्ये एक हो । भारतले आफ्नो कुल तेल आवश्यकताको करिब ८५ प्रतिशत विदेशी आपूर्तिकर्ताबाट पूर्ति गर्छ । नयाँदिल्ली परम्परागत रूपमा मध्यपूर्वका देशहरू-साउदी अरब, इरान र संयुक्त अरब इमिरेट्समा निर्भर रहँदै आएको छ ।

तर सन् २०२२ पछि पश्चिमी राष्ट्रहरूले मस्कोमाथि लगाएका प्रतिबन्धहरूका कारण रूसी तेलमा मूल्य घटेपछि भारतले त्यसको अवसर उठाउँदै आफ्नो आयात स्रोतलाई उल्लेखनीय रूपमा रूसी बजारतिर मोडेको थियो ।

प्रतिक्रिया