जापान पहिलो महिला प्रधानमन्त्रीको दिशामा, नयाँ गठबन्धन बन्न तयारी

टोकियो । जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले सोमबार साँझ नयाँ गठबन्धन सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेको छ । यस नयाँ राजनीतिक सहकार्यसँगै पार्टीकी नेत्री साने ताकाइचीलाई जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने बाटो खुलेको बताइएको छ ।
यस घोषणा पश्चात् टोकियोको निक्केई २२५ सूचकाङ्क तीन प्रतिशतभन्दा बढी बढ्दै ४९ हजार अङ्क नाघेको छ, जुन ऐतिहासिक रेकर्ड हो । नयाँ गठबन्धन जापान इनोभेसन पार्टी (जेआइपी) सँग हुने भएको हो । जेआइपीले आइतबार राति अप्रत्याशित रूपमा एलडिपीसँग सहकार्यको निर्णय गरेको हो । जेआईपीका सह–प्रमुख हिरोफुमी योसिमुराले पत्रकारहरूलाई बताउँदै भने, हिजो राति लामो विचार–विमर्शपछि मैले आज बिहान अध्यक्ष ताकाइचीलाई टेलिफोन गरी गठबन्धन सम्झौतामा पुग्ने सहमति जनाएँ ।
साँझ ६ बजे हामी औपचारिक रूपमा हस्ताक्षर गर्नेछौँ । एलडिपीकी ६४ वर्षीया नेत्री साने ताकाइची दक्षिणपन्थी विचारकी रूपमा चिनिए । उनी चीनविरुद्ध कडा र परम्परावादी धारणा राख्ने नेत्री मानिछन् । यस महिनाको सुरुमा उनले पार्टीको नेतृत्व जित्नुभएको थियो । तर २६ वर्षदेखि साथ दिँदै आएको कोमेइटो पार्टीसँगको गठबन्धन पतन भएपछि उनको प्रधानमन्त्री बन्ने सम्भावना अस्थिर बनेको थियो ।
कोमेइटो पार्टीले हालैको स्लस–फन्ड (अवैध कोष) घोटालापछि एलडिपीले पार्टीको वित्तीय पारदर्शिता सुनिश्चित गर्न असफल भएको भन्दै सम्बन्ध तोडेको थियो । त्यसमाथि ताकाइचीले विगतमा चीनमाथि दिएका कडा अभिव्यक्ति र युद्धकालीन मन्दिर भ्रमणका कारण सम्बन्ध थप चर्किएको बताइएको छ । नयाँ गठबन्धनपछि पनि एलडिपी र जेआइपीको संयुक्त मत सङ्ख्या तल्लो सदनमा बहुमतभन्दा दुई सिट कम छ । तर दोस्रो चरणको रन–अफ मतदानमा ताकाइचीले अन्य उम्मेदवारभन्दा बढी समर्थन पाए प्रधानमन्त्री बन्न सक्ने सम्भावना अझै कायम रहेको विश्लेषकहरूको मत छ ।
ताकाइची विगतमा आफ्ना गुरु, दिवङ्गत पूर्व प्रधानमन्त्री सिन्जो आबेको ‘अबेनोमिक्स’ आर्थिक नीतिलाई समर्थन गर्दै आक्रमक मौद्रिक सहजता र सरकारी खर्च विस्तारको पक्षमा रहेका छन् । मिजुहो सेक्युरिटिजका विश्लेषक युटाका मिउराले ब्लुमबर्गसँग कुरा गर्दै भने, लगानीकर्ताहरू ताकाइचीको सक्रिय वित्तीय नीतिहरूबाट उत्साहित भएका छन् । यद्यपि नयाँ गठबन्धनलाई संसद्को दुवै सदनमा अल्पसङ्ख्यक भएका कारण कानून निर्माणका लागि अन्य दलहरूको सहयोग आवश्यक हुनेछ ।
जेआइपीले उपभोग करलाई खाद्यमा शून्य दरमा झार्ने, कर्पोरेट अनुदान समाप्त गर्ने र सांसदहरूको सङ्ख्या घटाउने प्रस्ताव अघि सारेको क्योदो न्युजले जनाएको छ । रिपोर्ट अनुसार जेआइपीले ताकाइचीको मन्त्रिमण्डलमा कुनै पनि मन्त्री पद लिने छैन । अर्थतन्त्र पुनर्जीवन र घट्दो जनसङ्ख्याको चुनौतीसँगै ताकाइचीका लागि अर्को ठूलो काम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध सन्तुलनमा राख्नु हुनेछ ।
ट्रम्प यस महिनाको अन्त्यमा दक्षिण कोरियामा हुने एसिया–प्यासिफिक इकोनोमिक कोअपरेशन (एपेक) शिखर सम्मेलनमा सहभागी हुँदै छन् । यसबीच वासिङ्टन र टोकियोबीचको व्यापार सम्झौता, रूसी ऊर्जा आयात रोक्ने माग र जापानको रक्षा खर्च बढाउने विषयहरू अझै अनिर्णित छन् ।
सन् १९५५ देखि लगभग निरन्तर शासन गर्दै आएको एलडिपीको घट्दो जनसमर्थन रोकिने अपेक्षासँगै ताकाइचीमाथि ठूलो दबाब रहेको छ । उनीलाई समर्थन दिने साना दलहरूमध्ये आप्रवासनलाई ‘मौन आक्रमण’ ठान्ने लोकप्रियतावादी सान्सितो पार्टी पनि सामेल छ । यद्यपि विदेशमा जन्मिएका बासिन्दाहरू जापानको कुल जनसङ्ख्याको मात्र करिब तीन प्रतिशत हुन् ।








प्रतिक्रिया