बुधबार, पुष ९, २०८२

बुडापेस्ट शिखर सम्मेलनमा पुटिन र ट्रम्प सहभागी हुन सक्ने सम्भावना : राष्ट्रपति जेलेन्स्की

नेपालखोज २०८२ कार्तिक ३ गते १६:५८

किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प हङ्गेरीमा हुन लागेको बुडापेस्ट शिखर सम्मेलनमा सहभागी हुन सक्ने सम्भावना रहेको बताएका छन् ।

राष्ट्रपति ट्रम्प र पुटिन दुवैजनाले हङ्गेरीको राजधानी बुडापेस्टमा आगामी केही हप्ताभित्र भेट हुने सङ्केत दिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०२२ मा रूसको आक्रमणबाट सुरु भएको युक्रेन–रूस युद्धको साढे तीन वर्ष लामो द्वन्द्वलाई अन्त्य गर्न शान्ति सम्झौताको पहल गर्दै मध्यस्थता गर्ने प्रयास गरिरहेका छन् ।

यदि मलाई बुडापेस्टमा निमन्त्रणा गरिन्छ भने—चाहे त्यो हामी तीनै राष्ट्रपतिबीचको प्रत्यक्ष भेट होस् वा यसलाई शटल कूटनीति भनिएको ढाँचामार्फत राष्ट्रपति ट्रम्पले पुटिन र मलाई छुट्टाछुट्टै भेट्नेछन् —कुनै न कुनै स्वरूपमा सहमति खोजिनेछ जेलेन्स्कीले सोमबार पत्रकारहरूसँग भने।

उनले हङ्गेरीलाई शिखर सम्मेलनको स्थलका रूपमा छनोट गरिएको विषयमा असन्तुष्टि जनाउँदै त्यस मुलुकको युक्रेनप्रतिको व्यवहारमाथि प्रश्न उठाए । उनले हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानप्रति सङ्केत गर्दै भने, युक्रेनलाई हरेक तहमा अवरोध गर्ने प्रधानमन्त्रीले युक्रेनी जनताको हितका लागि सकारात्मक कदम चाल्ने वा सन्तुलित योगदान दिने विश्वास म गर्न सक्दिनँ ।

किएभ सरकारले भने यो शिखर वार्ता बुडापेस्टका साथै टर्की, स्विट्जरल्याण्ड वा भ्याटिकनजस्ता तटस्थ मुलुकहरूमा पनि आयोजना गर्न सकिने बताएको छ ।

स्मरण रहोस्, सन् १९९४ मा रूसले बुडापेस्टमै युक्रेन, बेलारुस र कजाकिस्तानसँग एक सम्झौता (बुडापेस्ट ज्ञापनपत्र) गरेको थियो । जसअन्तर्गत सोभियत युगबाट बाँकी रहेका आणविक हतियार त्याग्ने सर्तमा ती देशहरूको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको थियो ।

त्यस सन्दर्भमा राष्ट्रपति जेलेन्स्कीले टिप्पणी गर्दै भने, अर्को ‘बुडापेस्ट’ परिदृश्य पनि युक्रेनका लागि सकारात्मक नहुने देखिन्छ ।

यसैबीच, राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पुनः प्रवेश गरेपछि युक्रेन–रूसबीचको दीर्घकालीन द्वन्द्वलाई छिटो समाधान गर्ने आफ्नो प्राथमिक लक्ष्य बनाएका छन्। उनले युक्रेनी र रुसी अधिकारीबीच प्रत्यक्ष वार्ता सुरु गर्न दबाब दिँदै पुटिनलाई अलास्कामा शिखर सम्मेलनका लागि आमन्त्रित गरेका थिए, यद्यपि ती कूटनीतिक पहलहरू अहिले सम्म ठोस सफलतामा परिणत भएका छैनन् ।

प्रतिक्रिया