बुधबार, पुष ९, २०८२

सुडानी अर्धसैनिक बलले डार्फरको एल–फासेरलाई पूर्ण नियन्त्रण लिएको घोषणा

नेपालखोज २०८२ कार्तिक ९ गते २०:३४

पोर्ट सुडान, सुडान । सुडानको पश्चिमी क्षेत्र डार्फरको अन्तिम प्रमुख शहरी केन्द्र एल–फासरलाई पूर्ण नियन्त्रणमा लिएको अर्धसैनिक बल (आरएसएफ) ले आइतबार दाबी गरेको छ। आरएसएफद्वारा जारी एक विज्ञप्तिमा उसले सुडानी सेनालाई सङ्केत गर्दै भनेको छ, भाडाका सैनिक र लडाकुको पकडबाट एल–फाशर शहर नियन्त्रणमा आएको छ।

सुडानको सेना र आरएसएफबीच सन् २०२३ अप्रिलदेखि उक्त क्षेत्रमा लडाइँ जारी छ। र सेना र उसका सहयोगीहरूले टिप्पणीको लागि अनुरोधमा जवाफ नदिएपछि एएफपीले आरएसएफको दावीलाई तत्काल स्वतन्त्र रूपमा पुष्टि गर्न असम्भव भएको छ। यसअघि उक्त समूहले सन् २०२४ को अप्रिलदेखि घेराबन्दीमा रहेको सहरस्थित सेनाको मुख्यालय कब्जा गरेको बताएको थियो ।

स्थानीय समर्थक सेनाको लडाकु समूह ‘पपुलर रेजिस्टेन्स’ले आरएसएफलाई मनोबल कमजोर पार्न ‘मिडिया दुष्प्रचार अभियान’ चलाएको आरोप लगाएको छ र बासिन्दाहरूले अझै पनि ‘आतङ्कवादी लडाकुकोसामना गरिरहेका’ बताएको छ। अगस्टदेखि आरएसएफले एल–फासरमा तोपखाना र ड्रोन आक्रमणहरू तीव्र पारेको छ, जसले १८ महिनाभन्दा बढी घेराबन्दीपछि सेनाको अन्तिम रक्षात्मक रेखाहरू नष्ट गरेको छ।

आरएसएफको भिडियोमा आइतबार सेनाका गाडीहरू मुख्यालयबाट पछि हटेको र छैटौं इन्फेन्ट्री डिभिजन बेसमा लडाकुहरू उत्सव मनाइरहेको देखाइएको थियो। दक्षिण डार्फर राज्यको राजधानी न्यालाको फुटेजमा आरएसएफका लडाकुहरू स्थानीइसँगै उत्सव मनाइरहेको देखिएको छ। यदि पुष्टि भयो भने, शहर कब्जा सुडानको दुई वर्षे युद्धमा एक प्रमुख मोड हुनेछ। युद्धले दशैँ हजार व्यक्तिको ज्यान लिएको छ र लगभग एक करोड २० लाख मानिसहरू आन्तरिक वा बाह्यरूपमा विस्थापित भएका छन् ।

एल फासरको नियन्त्रणले डार्फर राज्यका सबै पाँच सद्मुकामहरूलाई आरएसएफको नियन्त्रणमा ल्याउनेछ र न्यालामा भर्खरै स्थापित समानान्तर प्रशासनलाई सुदृढ गर्नेछ। यसले सुडानलाई प्रभावकारी रूपमा सरकारी सेना र विद्रोही समूह आरएसएफबीच सीमा निर्धारण गराउनेछ । सेनाले उत्तर, पूर्व र मध्य भाग कब्जा गरेको छ भने आरएसएफले डार्फर र दक्षिणका केही भागहरूमा प्रभुत्व जमाएको छ।

युद्धका कारण आधा सङ्ख्यामा बालबालिकासहित लगभग दुई लाख ६० हजार नागरिकहरू सहायता वा खाना बिना एल–फाशरमा फसेका अधिकारवादी सङ्घसङ्गठनहरूले जनाएका छन् । संयुक्त राष्ट्रसङ्घका चार निकायले बिहीबार स्वास्थ्य सेवा ध्वस्त भएका कारण हजारौँ कुपोषित बालबालिका मृत्युको खतरामा रहेको चेतावनी दिएका छन् । डार्फर क्षेत्रमा हत्या, यौन हिंसा र जबर्जस्ती भर्तीका घटनाहरू दिनानुदिन बढिरहेका छन्।

संयुक्त राष्ट्रसङ्घले यसअघि अप्रिलमा आरएसएफले नजिकैको जामजाम शिविर कब्जा गरेपछि एल–फासरमा गैरअरब समुदायलाई लक्षित गरी सम्भावित नरसंहारबारे चेतावनी दिएको थियो । बारम्बार अन्तर्राष्ट्रिय अपिल गरिए पनि अत्याचार गरेको आरोप लागेका दुवै पक्षले युद्धविरामको आह्वानलाई बेवास्ता गरेका छन्। संयुक्त राज्य अमेरिका, इजिप्ट, साउदी अरब र संयुक्त अरब इमिरेट्सका प्रतिनिधिहरूले शुक्रबार वाशिङ्गटनमा ‘सुडानमा शान्ति र स्थिरताका लागि सामूहिक प्रयासलाई अगाडि बढाउन’ र नागरिक शासनमा सङ्क्रमणकालको घोषणाका लागि बैठक गरेका अरब र अफ्रिकी मामिलाका लागि अमेरिकाका वरिष्ठ सल्लाहकार मसाद बोउलोसले बताए ।

चार देशहरूले पछिल्लो बैठकबाट सेप्टेम्बरको शान्ति प्रस्तावको लागि आफ्नो पहलबारे पुनः प्रतिवद्धता जाहेर गर्दै तीन महिनाको युद्धविराम र त्यसपछि स्थायी युद्धविराम र नागरिक शासनको आह्वान गरिएको बताएका छन् । तर बैठकले थोरै मात्र ठोस प्रगति गरेको देखिन्छ।

प्रतिक्रिया