बुधबार, पुष ९, २०८२

चीन र आसियानबीच ‘स्वतन्त्र व्यापार’ सम्झौतामा हस्ताक्षर

नेपालखोज २०८२ कार्तिक ११ गते ११:४८

क्वालालम्पुर । चीनले मङ्गलबार दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) सँग स्वतन्त्र व्यापार सम्झौताको विस्तारित संस्करणमा हस्ताक्षर गर्दै आफूलाई अमेरिकी संरक्षणवादी नीतिको विकल्पका रूपमा प्रस्तुत गरेको छ ।

चिनियाँ प्रधानमन्त्री ली किआङले आसियान–चीन शिखर सम्मेलनमा विश्वव्यापी आर्थिक अनिश्चितता पार गर्न घनिष्ठ सहकार्यको आवश्यकता औँल्याए र ‘एकताको सट्टा टकरावले कसैलाई फाइदा नहुने’ बताए ।

एकता नै शक्ति हो, लीले राष्ट्रपथि सी जिनपिङको यसअघि गरिएको भनाइ उद्धृत गर्दै भने । उनले अमेरिकी आर्थिक जबरजस्ती र हस्तक्षेपको आलोचना गर्दै क्षेत्रीय सहयोगले साझा हित सुरक्षित गर्न सक्ने धारणा प्रस्तुत गरे ।

तर फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले चीनप्रतिको सावधानीपूर्ण दृष्टिकोण अपनाउँदै ‘सहयोग जबरजस्तीको साथमा हुन सक्दैन’ भन्दै चेतावनी दिए ।

नयाँ सम्झौता ‘आसियान–चीन स्वतन्त्र व्यापार क्षेत्र ३.०’ का रूपमा चिनिएको छ । यो सम्झौताले दुई अर्बभन्दा बढी जनसङ्ख्या भएको बजारलाई जोड्नेछ । यसले सामानमा कर घटाउने, लगानी र सेवा प्रवाह सहज पार्ने र आपूर्ति शृङ्खला मजबुत बनाउने लक्ष्य राख्दछ । सन् २००२ मा पहिलो पटक हस्ताक्षर गरिएको यो सम्झौता सन् २०१० मा लागू भएको थियो ।

अहिलेसम्म दुईतर्फी व्यापार सन् २०१० को दुई खर्ब ३५ अर्ब डलरबाट बढेर गत वर्ष झन्डै १० खर्ब डलर पुगेको छ । आसियान र चीन एक–अर्काका प्रमुख व्यापारिक साझेदार हुन् ।

ली किआङले आसियान सदस्यहरू—ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यान्मा, फिलिपिन्स, सिङ्गापुर, थाइल्यान्ड, भियतनाम र पूर्वी टिमोर—लाई ‘भूगोल, संस्कृति र भावना नजिकका भाइ राष्ट्रहरू’ भन्दै संयुक्त प्रगतिको आह्वान गरे ।

उनले भने, एकपक्षीयता र संरक्षणवादले विश्वव्यापी व्यापार संरचनामा गम्भीर असर पुर्‍याएको छ, तर हामी पारस्परिक भरोसा र समन्वयद्वारा हाम्रो वैध अधिकार र चासोको रक्षा गर्न सक्छौँ ।

राजनीतिक विश्लेषक ब्रिजेट वेल्शका अनुसार अद्यावधिक सम्झौताले आपूर्ति शृङ्खला र दिगोपनमा क्षेत्रीय लाभ पुर्‍याउनेछ । उनले भने, यो सम्झौताले विश्वव्यापी वास्तविकतालाई पनि प्रतिबिम्बित गर्छ, जहाँ गैर–अमेरिकी देशहरू आफ्नो समृद्धिका लागि नयाँ व्यापार सहकार्यतर्फ उन्मुख छन् ।

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले आसियानको सन्तुलित नीति दोहोर्‍याउँदै भने, हामी हिजो अमेरिकाका राष्ट्रपति ट्रम्पसँग थियौँ, आज चीनसँग छलफल गर्दैछौँ—यसले आसियानको केन्द्रीय भूमिका र सन्तुलित कूटनीति देखाउँछ ।

हाल चीन र अमेरिकाबीच बढ्दो व्यापार तनावका बीच बिहीबार दक्षिण कोरियामा हुने राष्ट्रपति ट्रम्प र सी जिनपिङबीचको भेटवार्ताले द्वन्द्व शान्त पार्ने अपेक्षा गरिएको छ ।

आसियान–चीन स्वतन्त्र व्यापार क्षेत्र ३.० अन्तर्गत डिजिटल व्यापार, हरित अर्थतन्त्र, दिगोपन र साना–मध्यम उद्योगहरूको प्रवद्र्धनमा जोड दिइनेछ । यसले गैर–कर अवरोधहरू घटाउने र साना व्यवसायका लागि बजार पहुँच सुधार्नेछ ।

तर दक्षिण चीन सागरमा विवाद झन् तातिएको छ । फिलिपिन्सका राष्ट्रपति मार्कोसले समुद्री क्षेत्रमा चीनको ‘खतरनाक कार्य र उत्पीडन’ प्रति गम्भीर चिन्ता जनाउँदै भने, समुद्री वातावरणको संरक्षणका नाममा कुनै पनि कदम सार्वभौमसत्तामाथि आक्रमण हुन सक्दैन ।

मार्कोसले आगामी वर्ष आसियान अध्यक्षता सम्हाल्दै विवादित जल क्षेत्रमा आचारसंहिता निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता जनाए ।

यसबीच, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुले फिलिपिन्समाथि ‘समुद्रमा उक्साहट र उल्लङ्घन’ गरेको आरोप लगाउँदै तनाव बढाएको दाबी गरे ।

विश्लेषक वेल्शले भने, दक्षिण चीन सागर विवादलाई क्षेत्रीय देशहरूले सुरक्षा विषयका रूपमा लिन्छन्, तर त्यसले चीनसँगको आर्थिक सम्बन्धमा ठूलो असर पार्ने सम्भावना कम छ ।

प्रतिक्रिया