दक्षिण कोरियामा सीसँगको भेटपछि ट्रम्पद्वारा चीनमाथिको कर कटौती घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटलाई ‘अत्यन्तै सफल’ भन्दै चीनमाथि लगाइएको कर घटाउने घोषणा गरेका छन् ।
उनका अनुसार यस भेटपछि बेइजिङले दुर्लभ पृथ्वी तत्वहरूको निर्यात पुनः खोल्ने र अमेरिकी सोयाबिन खरिद सुरु गर्ने सहमति जनाएको छ ।
राष्ट्रपति ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरूसँग भने, ‘हामीले यस वर्षको सुरुमा चीनलाई फेन्टानिल उत्पादनमा प्रयोग हुने रसायनहरू बेचेकोमा सजायस्वरूप लगाइएको करलाई २० प्रतिशतबाट १० प्रतिशतमा घटाउँदैछौँ ।’ यस कदमपछि चीनमाथिको कुल कर दर ५७ प्रतिशतबाट घटेर ४७ प्रतिशतमा पुगेको उनको भनाइ छ ।
‘शून्यदेखि १० को मापनमा १० सबैभन्दा राम्रो हो भने म यो बैठकलाई १२ भन्नेछु”, राष्ट्रपति ट्रम्पले हाँस्दै भने । उनले आगामी अप्रिलमा चीन भ्रमण गर्ने र राष्ट्रपति सी पनि केही समयपछि अमेरिका आउने योजना रहेको बताए । साथै, एनभिडियाले चीनसँग उच्च प्रविधियुक्त कम्प्युटर चिप्स निर्यातबारे छलफल गर्न लागेको जानकारी पनि दिए ।
ट्रम्पले ‘धेरै चाँडै’ दुई देशबीच व्यापार सम्झौतामा हस्ताक्षर हुन सक्ने विश्वास व्यक्त गरे ।








प्रतिक्रिया