बुधबार, पुष ९, २०८२

पदयात्रीको रोजाइमा ‘देवचुलीडाँडा’

नेपालखोज २०८२ कार्तिक १६ गते १३:४६

त्रिवेणी (नवलपरासी) । पछिल्लो समय देवचुली नगरपालिका–६ स्थित ‘देवचुलीडाँडा’ आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । पदयात्रा गर्न रुचि हुनेहरूको आगमन बढ्नुका साथै देचवुलीडाँडा जिल्लाकै प्रमुख पदयात्राको गन्तव्यसमेत बन्दै गएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको सबैभन्दा अग्लो डाँडाका रूपमा समुद्र सतहदेखि करिब एक हजार ९३६ मिटर उचाइमा पर्दछ । पर्यटकीय क्षेत्र देवचुलीडाँडाबाट सूर्योदयको मनमोहक दृश्य हेर्न आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । नवलपुरसहित चितवन आसपासका क्षेत्रबाट पदयात्रामा रुचि राख्नेहरूको अहिले देवचुलीडाँडा रोजाइमा पर्न थालेको देवचुली–६ का वडाध्यक्ष मीनबहादुर सोतीले बताए ।

उनका अनुसार अहिले दैनिक २०–३० जनासम्म आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् । डाँडाबाट बिहान सूर्योदयको सुन्दर दृश्य, उत्तरतर्फका हिमाल, नवलपुर, तनहुँ, पाल्पा र चितवनका भूभाग अवलोकन गर्न पाउँदा आनन्द महसुस गरेको कावासोतीका वसन्त अधिकारीले बताए ।

यहाँबाट उत्तरतर्फ देखिने मनमोहक हिमशृङ्खलाले मन आनन्दित बनाउँछ, उनले भने, यस क्षेत्रमा पर्यटकीय पूर्वाधार विस्तार गर्न सबै बाह्य पर्यटकको रोजाइमा पनि पर्ने थियो । देवचुली डाँडाबाट दक्षिणतर्फ नारायणी नदी, पूर्व–पश्चिम राजमार्ग छेउका घना बस्ती, चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रसहित समथर भूभाग सहजै अवलोकन गर्न सकिने अधिकारीले जानकारी दिए । पूर्वाधार विस्तारसँगै पर्यटन प्रवद्र्धन तथा रोजगारी सिर्जना गर्न सकिने उनले धारणा राखे ।

छोटो दूरीको पदयात्रामा रमाउनेका लागि देचवुलीडाँडा उपयुक्त गन्तव्य बन्न सक्ने कावासोतीका प्रवीन सापकोटाले बताए । पहाडी पाखाको यात्रा, यात्रामा देखिने मनोरम दृश्यले आगन्तुकलाई आकर्षित गर्ने उनको भनाइ छ । एक साँझ पोखरी क्षेत्रमा रहेको घरबास (होमस्टे)मा बास बसेर मगर समुदायको स्थानीय परिकार, संस्कृतिको अवलोकन गर्न सकिने उनले बताए ।

पूर्व–पश्चिम राजमार्गको दलदलेबाट करिब २० किलोमिटर उत्तर लागेपछि पोखरी पुगिन्छ । त्यसपछि पैदलयात्रा सुरु हुन्छ । पोखरी क्षेत्रमा खाने, बस्ने सुविधासहिका होटल सञ्चालनमा छन् । यहाँ घरबासको सुविधासमेत छ । कोही दलदलेबाट मुण्डे–कीर्तिपुरहुँदै देवचुलीडाँडा चढ्ने गर्दछन् । करिब तीन घण्टाको पैदलयात्रापछि देवचुलीडाँडा पुग्न सकिन्छ ।

देवचुलीडाँडा जाने अधिकांश पोखरीहुँदै जाने देवचुली–६ का वडाध्यक्ष सोतीले बताए । यो मार्ग हुँदै जाँदा ठाडो उकालो कम पर्ने हुनाले अधिकांशले यही मार्ग प्रयोग गर्ने उनको भनाइ छ । यो मार्ग भएर जानेहरू अघिल्लो साँझ बोझा पोखरी पुग्ने गर्दछन् । यहाँ घरबाससमेत रहेकाले राति घरबासमा बस्ने, पहाडका स्थानीय परिकार खाने, सांस्कृतिक कार्यक्रममा रमाइलो गर्ने र बिहान पैदलयात्रामा निस्कने गर्दछन् । पदयात्राका क्रममा बीचमा केही होटलहरू पनि छन्, उनले भने ।

देवचुली डाँडामा प्राकृतिक गुफा, तीन कन्यामाईको मन्दिर, भ्यू टावरलगायत संरचना निर्माण गरिएको वडाध्यक्ष सोतीले जानकारी दिए । परापूर्वकालमा यहाँ पाँच पाण्डव गुप्तबास बसेका किंबदन्तीसमेत रहेको उनले बताए । थारु समुदायले प्रत्येक वर्ष चैत पूर्णिमाका दिन देवचुली डाँडामा विशेष पूजा गर्दछन् । सो दिन डाँडामा मेलासमेत लाग्ने गर्दछ । यहाँ पूजा गर्नाले आफ्नो कूलमा सुख, सम्वृद्धि प्राप्त हुने जनविश्वास थारु समुदायमा छ ।

पछिल्लो समयमा यो क्षेत्र प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै गएको वडाध्यक्ष सोतीले बताए । अहिले विभिन्न ठाउँबाट यहाँ आउने आन्तरिक पर्यटक बढेका भन्दै दैनिक ३० जनासम्मले डाँडा चढ्ने गरेका उनले जानकारी दिए ।

देवचुलीडाँडा पदयात्राको गन्तव्य बन्दै जाँदा पोखरी, कुमसोत, कीर्तिपुर क्षेत्रमा चहलपहल बढेको उनले बताए । यस क्षेत्रमा थप पर्यटकीय पूर्वाधार विकास गर्दै पर्यटन प्रवद्र्धनका माध्यमबाट स्थानीयको आयआर्जन बढाउने योजनामा नगर र वडा कार्यालय रहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया