बुधबार, पुष ९, २०८२

एन्ड्र्यु–एपस्टिन प्रकरणमा बेलायती शाही परिवारप्रति ‘नराम्रो’ महसुस भएको राष्ट्रपति ट्रम्पको अभिव्यक्ति

नेपालखोज २०८२ कार्तिक १७ गते १५:४१

एयर फोर्स वन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतका राजा चाल्र्स तृतीयका भाइ पूर्व राजकुमार एन्ड्र्यु र दिवङ्गत यौन अपराधी जेफ्री एपस्टिनबीचको अपमानजनक सम्बन्ध प्रकरणप्रति दुःख प्रकट गरेका छन् । उनले उक्त घटनाका कारण बेलायती शाही परिवारप्रति ‘नराम्रो महसुस’ भएको बताए ।

एयर फोर्स वनमा रहेका बेला एएफपीका पत्रकारले हालैको शाही विवादबारे प्रश्न गर्दा ट्रम्पले भने, म निकै नराम्रो महसुस गर्छु । यो परिवारका लागि निकै डरलाग्दो र दुःखद अवस्था हो । वास्तवमै म उनीहरूप्रति सहानुभूति महसुस गर्छु ।

७९ वर्षीय ट्रम्प आफैँ पनि न्युयोर्कका धनी वित्तीय कारोबारी एपस्टिनसँगको आफ्नै सम्भावित सम्बन्धका कारण पछिल्ला महिनाहरूमा राजनीतिक दबाबमा रहँदै आएका छन् । एपस्टिनको सन् २०१९ मा जेलमा रहँदै मृत्यु भएको थियो ।

ट्रम्पको टिप्पणी त्यस्तो समयमा आएको छ जतिबेला बेलायती सरकारले पूर्व राजकुमार एन्ड्र्युको बाँकी रहेको मानार्थ ‘भाइस–एडमिरल’ पद समेत खोस्ने तयारी गरिरहेको छ । उहाँलाई अब औपचारिक रूपमा एन्ड्र्यु माउन्टब्याटन–विन्डसर भनेर चिनिन्छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले विगतमा बेलायती शाही परिवारप्रति बारम्बार प्रशंसा प्रकट गरेका छन् । केही महिना अघि सेप्टेम्बर महिनामा राजा चार्ल्सले उनीलाई भव्य राजकीय भ्रमणका क्रममा विन्डसर क्यासलमा राजकीय भोज, सैन्य परेड र फ्लाइओभरसहितको स्वागत गरेका थिए ।

तर यता ‘एपस्टिन फाइल’ का नामले चिनिएका कागजातहरू पुनः सार्वजनिक भएपछि एपस्टिनसँग लामो समयको सम्बन्ध रहेका ट्रम्पको दोस्रो कार्यकाल पनि विवादको केन्द्रमा तानिएको छ ।

जुलाईमा ट्रम्प प्रशासनले नयाँ प्रमाण नपाइएकाले एपस्टिनसम्बन्धी थप कागजात सार्वजनिक गर्ने वा नयाँ अनुसन्धान सुरू गर्ने कुनै आवश्यकता नभएको घोषणा गरेको थियो । एपस्टिनले आफूले यौन मसाजका नाममा भर्ती गराएका कम उमेरका किशोरीहरूलाई यौन तस्करीमा प्रयोग गरेको अभियोगमा जेल सजायको पर्खाइमै आत्महत्या गरेका थिए ।

अधिकारिहरूले उक्त मृत्यु आत्महत्या भएको पुष्टि गरे पनि यस घटनापछि ट्रम्पका समर्थकहरूबीच अनेकौँ षड्यन्त्र सिद्धान्त फैलिएका छन् — जसअनुसार एपस्टिनलाई उच्च–प्रोफाइल व्यक्तिहरूको रहस्य उजागर हुन नदिन हत्या गरिएको थियो ।

ट्रम्पले भने एपस्टिनसँग कुनै प्रत्यक्ष संलग्नता नरहेको बारम्बार दोहोर्‍याउँदै यो विषयलाई आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूले सिर्जना गरेको ‘पूर्ण कपट’ भनेर खारेज गरेका छन् ।

प्रतिक्रिया