शुक्रबार, पुष ४, २०८२

उपत्यकामा ट्राफिक नियम पालना सम्बन्धी ट्राफिक प्रतिबद्धता टोकन राख्न शुरू

नेपालखोज २०७७ असोज २१ गते १७:३०

काठमाडौं । महानगरिय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियमसम्बन्धी मुख्य व्यवहारिक र जीवन उपयोगी बुदाँहरू राखेर तयार गरिएको ‘ट्राफिक प्रतिबद्धता टोकन’, काटमाडौं उपत्यकाको सरकारी तथा गैरसरकारी कार्यालयहरूमा राख्न शुरू गरेको छ । महाशाखाले उपत्यकाको मन्त्रालय, विभाग, सरकारी कार्यालय, अस्पताल, संघसंस्था, वित्तिय संस्था, स्थानिय तहका कार्यालयहरुमा आउने सेवाग्राही तथा कर्मचारीहरूलाई लक्षित गर्दै ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी सचेतना अभिबृद्धि गराउन ट्राफिक प्रतिबद्धता टोकन राख्ने कार्यको थालनी गरेको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र अझ प्रभावकारी बनाउनकोलागि जनचेतना जगाउँदै चालकहरुलाई आफ्नो जिम्मेवारी बोध गराई सडक सभ्यतालाई जीवन पद्दतिको रुपमा विकास गर्न यो अभियान शुरू गरेको बताए । “ट्राफिक व्यवस्थापनका मुख्य तीन आधार प्रविधिसहितको सडक पुर्वाधार कानुन कार्यान्वयन र सडक सचेतना मध्ये सडक सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि एक प्रमुख आधार हो ।“ ढकालले भने “चौडा सडक, सडक बत्ती, चिल्ला सवारी साधनले मात्र ट्राफिकको समस्या समाधान हुने हैन । हामीले प्रयोग गर्ने सडक संस्कृतिमा सुधार र परिवर्तन नल्याएसम्म यस्ता समस्या भइरहन्छन् । त्यसैले यस्तो अभियानले ट्राफिक व्यवस्थापन एव सडक सभ्यतामा सुधार गर्नकालािग सहयोगी बन्ने अपेक्षा गरिएको छ ।“

सवारी चालक वा सडक प्रयोगकर्ताहरूले पालना गर्नुपर्ने ट्राफिक नियमहरु जानकारी हुँदा जिम्मेवार नागरिक भई सडकमा प्रस्तुत हुने र त्यसबाट सडक सभ्यताको विकास भई ट्राफिक व्यवस्थापनमा थप सहयोग हुने भएकोले यस्तो ट्राफिक प्रतिबद्धता सम्बन्धी टोकन राखिएको बताए ।

ट्राफिक महाशाखाको पहलमा काठमाडांै महानगरपालिकाको सहकार्यमा बढि सेवाग्राही आउने कार्यालय, प्रतिक्षालय, नागरिक सहायता कक्षहरुमा राख्ने चार सय थान ट्राफिक प्रतिबद्धता टोकन र सार्वजनिक स्थान, कार्यालय कम्पाउण्ड तथा भिडभाड हुने स्थानहरुमा राख्नकोलागि ५० थान ट्राफिक प्रतिबद्धता सम्बन्धि सुचनामूलक बोर्डहरू निमार्ण गरिएको महाशाखाले जनाएको छ ।

सबै पक्षले सडक अनुशासन, मर्यादा र धैर्यता कायम गरी एकअर्काको सम्मान गर्दै ट्राफिक नियमको पालना गर्नु हामी सबैको कर्तव्य हो भन्ने मूल मन्त्र लिएर सडकको उचित प्रयोग गर्दा दुर्घटनाको संभावना कम हुने र आफू र आफन्तजन सुरक्षित हुने भएकोले सदैव ट्राफिक नियमको पालना गर्न समेत ट्राफिक महाशाखाले विशेष अनुरोध गरेको छ ।

प्रतिक्रिया