सोमबार, पुष ७, २०८२

ट्रम्पद्वारा भेनेजुएलाका राष्ट्रपति मदुरोसँग सम्भावित वार्ताको सङ्केत

नेपालखोज २०८२ मंसिर १ गते १६:०५

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार भेनेजुएलाका समकक्षी निकोलस मदुरोसँग निकट भविष्यमा वार्ता हुन सक्ने सङ्केत दिएका छन् । क्यारिबियन क्षेत्रमा अमेरिकी सैन्य गतिविधि तीव्र बनेपछि क्षेत्रीय तनाव बढिरहेको अवस्थामा उनको यस्तो अभिव्यक्ति आएको हो ।

ट्रम्पले भनेका थिए, हाम्रा प्रतिनिधिहरूले मदुरोसँग केही विषयमा छलफल गर्दै हुन सक्छन् । त्यो प्रक्रियाको परिणाम कुन दिशामा जान्छ, अहिले भन्न सकिँदैन । तर उनहरूले कुरा गर्न चाहना व्यक्त गरेका छन् । पत्रकारहरूले थप विवरण माग्दा उनले भने, भेनेजुएला संवादको इच्छुक छ । यसको ठ्याक्कै अर्थ के हो, म निश्चित छैन । म सबैसँग कुरा गर्न तयार छु ।

यसअघि, अमेरिकी विदेश मन्त्रालयले मदुरोको नेतृत्वमा रहेको दाबी गरिएको ‘कार्टेल डे लस सोल्स’ लाई विदेशी आतङ्कवादी सङ्गठन (एफटिओ) का रूपमा सूचीबद्ध गर्ने निर्णय सार्वजनिक गरेको थियो । विदेशमन्त्री मार्को रुबियोले जारी गर्नुभएको विज्ञप्तिमा उक्त कार्टेलसहित अन्य तोकिएको एफटिओहरूले अमेरिकामा लागुऔषध तस्करी बढाएको र क्षेत्रीय आतङ्कवादी गतिविधिमा भूमिका खेलेको दाबी गरिएको छ ।

नोभेम्बर २४ बाट लागू हुने यो सूचीकरण क्यारिबियन क्षेत्रमा हालै बढाइएको अमेरिकी सैन्य परिचालनसँग संलग्न छ । वासिङ्टनले यसलाई लागुऔषध तस्करी नियन्त्रणका लागि आवश्यक भन्दै आएको छ । तर काराकासले भने यो कदम राष्ट्रपति मदुरोको सत्ता फाल्न अमेरिकी प्रयासको हिस्सा भएको आरोप लगाएको छ । मदुरोलाई वासिङ्टनले अवैध नेता र लागुऔषध कारोबारमा संलग्न व्यक्ति भनेर आरोप लगाउँदै आएको छ । उक्त आरोपलाई उनले अस्वीकार गर्दै आएका छन् ।

रुबियोले आइतबार कार्टेल डे लस सोल्सको नेतृत्व मदुरो र उनीका वरिष्ठ अधिकारीहरूले गर्दै आएका छन्, जसले ‘भेनेजुएलाको सेना, गुप्तचर निकाय, विधायिका र न्यायपालिकालाई गम्भीर रूपमा भ्रष्ट बनाएका छन्’ भनी पुनः दाबी गरे । उनले भने, मदुरो वा उहाँका सहयोगीहरूले भेनेजुएलाको वैध सरकारको प्रतिनिधित्व गर्दैनन् ।

अमेरिकी अर्थ मन्त्रालयले यसअघि पनि कार्टेल डे लस सोल्समाथि तिनीहरूले अन्य अपराध समूहहरूलाई ‘भौतिक सहयोग’ गरेको आरोपमा प्रतिबन्ध लगाइसकेको छ ।

यसैबीच अमेरिकाले क्यारिबियन तथा पूर्वी प्रशान्त दुवै क्षेत्रमा ‘अपरेसन साउदर्न स्पियर’ नामक कडा नियन्त्रण अभियान सञ्चालन गरिरहेको छ । एएफपीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सेप्टेम्बरमा मानव तस्करीविरुद्धको सैन्य अभियान सुरु भएदेखि अमेरिकी सेनाले समुद्री क्षेत्रमा लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा कम्तीमा ८३ जनाको मृत्यु गराएको छ । तर अमेरिकाले ती लक्ष्यहरू वास्तवमा तस्कर नै थिए कि थिएनन् भन्ने विस्तृत विवरण सार्वजनिक गरेको छैन । विज्ञहरूले यस्तो कारबाहीलाई गैरन्यायिक हत्याको रूपमा हेर्नुपर्ने टिप्पणी गरेका छन् ।

अमेरिकी नौसेनाले आइतबार युएसएस जेराल्ड आर. फोर्ड विमानवाहक जहाज क्यारिबियन सागरमा तैनाथ रहेको पुष्टि गरेको छ । यससँगै दुई निर्देशित मिसाइल विध्वंसक जहाज तथा अन्य सहयोगी जहाज र विमानहरूसमेत परिचालनमा छन् । यो घोषणा पूर्वी प्रशान्त क्षेत्रमा गरिएको पछिल्लो अमेरिकी आक्रमणको एक दिनपछि आएको हो । उक्त आक्रमणमा तीन जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया