सोमबार, पुष ७, २०८२

मधेस प्रदेशसभा सञ्चालन गर्न माग

नेपालखोज २०८२ मंसिर ३ गते ७:३२

जनकपुरधाम । लामो समयदेखि अबरुद्ध रहेको मधेस प्रदेशसभा सञ्चालनको आज माग गरिएको छ । विभिन्न पाटीका मधेस प्रदेशसभाका ३२ जना प्रदेशसभा सदस्यहरूले उपसभामुख बबिता राउत इसरलाई भेटी ज्ञापनपत्र बुझाउँदै सो माग गर्नुभएको हो ।

सभामुख रामचन्द्र मण्डलले पदीय मर्यादा अनुकूल आचरण नगरेको प्रस्ताव दर्ता रहेका अवस्थामा विपक्षी दलका प्रदेशसभा सदस्यहरूले उपसभामुखलाई भेटेर प्रदेशसभा सञ्चालनको माग गरेका हुन् ।

विपक्षी दलहरूका तर्फबाट प्रदेशसभा सदस्य भरतप्रसाद साहले प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित उपसभामुख राउतलाई माग पत्र हस्तान्तरण गर्दै यही मङ्सिर ३ गते बुधबार प्रदेशसभाको बैठक बोलाउनका लागि माग गरेका हुन् ।

प्रदेशसभा नियमावलीअनुसार प्रदेशसभा २५ प्रतिशत सदस्यले बैठक बोलाउन माग गरेको खण्डमा बैठक बोलाउनुपर्ने कानुनी प्रावधान रहेको छ ।

मधेस प्रदेशसभामा सभामुख रामचन्द्र मण्डल विरुद्धमा दर्ता भएको महाअभियोगको प्रस्तावमाथि छलफल प्रक्रिया अगाडि बढाउका लागि सात दलबाट माग भएको छ ।

सभामुखमाथि दर्ता गरिएको प्रस्तावमाथि छलफल प्रक्रिया अगाडि बढाउन आफूहरूले प्रदेशसभा सञ्चालनको माग गरेको विपक्षी दलका नेताहरूले बताएका छन् ।

प्रदेशसभा सदस्यहरूको ज्ञापनपत्र बुझ्दै उपसभामुख राउतले प्रदेशसभा छिट्टै सञ्चालनको अह्वान गर्ने विश्वास दिलाए । -रासस

प्रतिक्रिया